मागेजति दाइँजो नल्याइएको निहुँमा सासूले आफ्ना बुहारीहरूलाई जिउँदै जलाइएका त्रासदीपूर्ण घटनाहरू नेपालगन्जमा बेलाबेला सुनिदै आएका घटना हुन् । तर, समाजलाई नै प्रेरणा दिने सासूहरु पनि नेपालगन्जमा भेटिन थालिएको छ । पूजाकी सासू सोनी केबट त्यस्तै एक उदाहरणीय सासू हुन् ।

कृष्ण अधिकारी, नेपालगन्ज

छरछिमेकका अरु महिलाहरुझैं पूजा केबट पनि घरधन्दा गरेरै दिन बिताउँथिन् । पूजाको माइती भारतको नानपारा हो । २०७३ फागुनमा बिहे भएर नेपालगन्ज–१३, बुलबुलियास्थित श्रीमानको घरमा आएपछि उनलाई अरु कुरामा ध्यान जाने सवालै भएन ।
उनी घरकी सबैभन्दा कान्छी ‘बहु’ हुन् । त्यसैले उनको उमेर अरु बहुको भन्दा सानो हुने भइहाल्यो । १६ वर्षकी उनीमाथि धेरै जिम्मेवारी पनि थिएन । घरको काम बिहान ११ बजे सम्म सकिन्थ्यो । त्यसपछि साँझसम्म फुर्सदमै हुन्थिन् ।
तर, अचेल पूजाको दैनिकी फेरिएको छ । उनी दिउँसो घरनजिकै स्कुलमा गएर कखग र १,२,३ पढ्छिन् । अरु विद्यार्थीहरु उनीभन्दा आधा उमेरका छन् । तैपनि उनी सबैसँग सजिलै घुलमिल भएर पढिरहेकी छिन् ।
‘पूजा बहु अब तिमीले पढ्नुपर्छ । भोलिदेखि स्कुल जाने है,’ एकदिन अचानक सासू सोनीको मुखबाट यस्तो वाक्य सुनेपछि दंग भएकी थिइन् पूजा । बहुलाई घरमा फुर्सदिलो अवस्थामा राख्नुभन्दा पढाउनुपर्छ भन्ने सोच पलाएपछि सोनीले पूजालाई स्कुल पठाउने निर्णय गरेकी हुन् ।
घरनजिकै ‘मेरो पहिलो विद्यालय’ नामक स्कुल खुलेपछि सोनीको ध्यान बुहारीको पढाइमा गएको थियो । ‘कस्तो छ त स्कुल ? बुहारीलाई भर्ना गर्न मिल्छ कि मिल्दैन ?’ भन्ने जिज्ञासा राख्दै एकदिन सासू सोनी स्कुलसम्मै पुगेकी थिइन् ।
स्कुलकी शिक्षिकाले सोनीलाई निकै हौसला दिइन् । र, बुहारीलाई तुरुन्त स्कुल पठाउन सुझाव दिइन् । पूजाले जीवनमा कहिल्यै पनि स्कुलमा पाइला टेकेकी थिइनन् ।त्यही भएर उनले वर्णमालाबाटै पढाइ सुरु गरेकी छिन् । उनलाई स्कुल पठाउने कुरामा श्रीमान् दीपु केबटले पनि सजिलै सहमति जनाएका थिए । सहमति मात्र होइन उनले श्रीमान्बाट प्रोत्साहन नै पाइन् ।
हुर्केको उमेरमा स्कुल जानुपर्दा पूजालाई सुरुमा त निकै लाज लागेको थियो । गत असारमा स्कुल गएको पहिलो हप्ता लाजले गर्दा उनले कपडाले टाउको छोपेकी थिइन् । सुरुका दुईचार दिन असहज भए पनि बिस्तारै पढ्ने, लेख्ने र साथीहरुसँग खेल्दै रमाउन थालिन् उनी ।
स्कुल भर्ना भएको एक महिनामै पूजाको आत्मविश्वास बढ्दै गयो । परिवारका सदस्यबाहेक अरु मान्छेसँग बोल्न डराउने उनी अचेल सबैसँग खुलेर निर्धक्क कुरा गर्न सक्ने भएकी छिन् । अक्षर चिन्दै गएपछि उनमा आँट पनि अकँुराएको छ ।
पूजाले पढाइमा देखाएको लगनशीलतादेखि सासू, श्रीमान् र शिक्षकशिक्षिकाहरुलगायत सबैजना प्रभावित भएका छन् । ‘माइतीमा आमाले पढाउनु भएन, बिहे गरेपछि त झन् पढ्न पाइएला भनेर सोचेकी नै थिइनँ,’ पूजाले थपिन्, ‘तर, मैले आमाजस्तै सासू पाएँ । अहिले पढ्न पाउँदा धेरै खुसी छु ।’
विभिन्न कारणले विद्यालयमा भर्ना भएर पढ्न नपाएका बालबालिकालाई उनीहरूको अनुकूल समयमा आएर खेल्दै, रमाउँदै पढ्ने, लेख्ने र सिक्ने अवसर उपलब्ध गराउने उद्देश्यले सेभ दि चिल्ड्रेनको सहयोगमा ‘मेरो पहिलो विद्यालय’ २०७३ पुसदेखि सञ्चालनमा आएको हो ।गत वर्ष ‘मेरो पहिलो विद्यालय’मा भर्ना भएका २८ जनामध्ये १७ विद्यार्थी नयाँ भर्ना खुल्नासाथ २०७४ वैशाखमा गाउँनजिकैको सरकारी विद्यालयमा पढ्न गए । बाँकी ११ जना र नयाँ थपिएका २० जना गरेर ३१ जना बालबालिका अहिले त्यहाँ पढ्दैछन् । ६ देखि १४ वर्षसम्मका बालबालिकालाई लक्षित गरेर विद्यालय खोलिएको भएपनि पढ्न इच्छुक १६ वर्षसम्मका बालबालिकालाई भर्ना लिने गरिएको विद्यालय प्रशासनले जनाएको छ । विद्यालय बिहान १० देखि १२ र १२ देखि २ बजेसम्म गरेर दिनमा दुई सिफ्ट सञ्चालन हुने गरेको छ ।
पूजा घरको काम सकेर बिहान एघार बजे स्कुल जान्छिन् र चार नबज्दै घर फर्कन्छिन् । उनले अर्को वर्ष गाउँनजिकैको विद्यालयमा एकैचोटि ३ कक्षामा भर्ना पाउन सक्ने ‘मेरो पहिलो विद्यालय’की सहयोगी शिक्षिका शान्ति केबट बताउँछिन् ।
पूजा पनि त्यही दिनको प्रतीक्षामा छिन् । युनिफर्म लगाएर स्कुल जान उनलाई हतार भइसकेको छ । भन्छिन्, ‘अझैं पढेर राम्रो प्रगति गर्नसक्छु भन्ने विश्वास बढेको छ ।’
सासू सोनीले पनि पूजालाई एक वर्षपछि तीन कक्षामा भर्ना गरिदिने योजना बनाएकी छिन् । पूजाले जति चाहन्छिन्, त्यतिसम्म पढाइदिने उनको इच्छा छ । भन्छिन्, ‘पूजा नाताले बहु भएपनि मेरी छोरी नै हुन् । उनलाई म धेरैभन्दा धेरै पढाउँछु ।’

उनले बुहारीलाई स्कुल भर्ना गर्दा सुरुमा केही छिमेकी र नातेदारले कुरा काटे । तर, पढेलेखेका मान्छेहरुले ‘राम्रो काम गरेको’ भन्दै स्याबासी दिन थालेपछि भने सोनी आफ्नो अडानमा अडिग रहिन् ।
अन्य समुदायका तुलनामा नेपालगन्जको मधेसी र मुस्लिम समुदाय अझै पनि धेरै पछाडि छन् । बाँके जिल्लामा महिला साक्षरता करिब ८९ प्रतिशत मात्रै छ । अझै पनि धेरै छोरीहरूले विद्यालयमा भर्ना भएर नियमित रुपमा पढ्न पाइरहेका छैनन् ।
बाँके जिल्लामा विद्यालयमा भर्ना हुने विद्यार्थीमध्ये १३ प्रतिशत अर्थात् करिब ८ हजार छात्राहरुले विद्यालय तहको पढाइ पूरा नगरी बीचमै छाड्ने गरेका छन् । चेतनाको अभाव, गरिबी र विद्यालयहरू बालमैत्री नहुँदा यस्तो स्थिति सिर्जना भएको हो ।
कानुनले बालविवाह निषेध गरेको छ । तर बाँकेमा १४ वर्षमुनिका करिब ३६ हजार बालबालिकाको विवाह हुन्छ । जिल्ला तथ्यांक कार्यालय बाँकेको पछिल्लो तथ्यांकअनुसार बाँकेमा हरेक वर्ष १० देखि १४ वर्ष उमेर समूहका ३४ हजार किशोरकिशोरीको बिहेबारी हुने गरेको छ । मधेसी समुदायमा बालविवाहको दर अरु समुदायमा भन्दा धेरै छ ।
मागेजति दाइँजो नल्याएको निहुँमा सासूहरुले आफ्ना बुहारीहरुलाई जिउँदै जलाएका त्रासदीपूर्ण घटनाहरु नेपालगन्जमा पनि बेलाबेला हुँदै आएका छन् । तर, समाजलाई सकारात्मक र प्रेरणा दिने सासूहरु पनि नेपालगन्जमा भेटिन थालिएका छन् । पूजा केबटकी सासू सोनी त्यस्तै एक उदाहरणीय सासू हुन् ।
मधेस समुदायकी विपन्न परिवारकी सोनीले आफ्नी बुहारीलाई पढाउनका लागि गरेको पहल धेरैका लागि प्रेरणादायी बन्न सक्छ । ‘अहिलेको जमानामा लेखपढ गर्न नसक्ने मान्छेलाई बाँच्न धेरै गाह्रो छ,’ उनी भन्छिन्, ‘भविष्यमा कुनै पनि काम गर्न गाह्रो नहोस् भनेर बहुलाई स्कुल पठाएकी हुँ, राम्रोसँग पढ्यो भने सानोतिनो जागिर पनि पाउँछिन् कि भन्ने मेरो आशा छ ।’
सोनीले पनि सानो उमेरमा विद्यालय जान पाइनन् । तर छोराछोरीलाई विद्यालय पठाएकी थिइन् । छोराले ५ कक्षा सम्म पढेर सिलाइकटाइको काम सुरु गरे । तर छोरीले भने १२ कक्षासम्म पढिन् । छोरीको बिहे पनि भइसकेको छ ।
उनले छोरीबाटै नाम लेख्न सिकेकी हिुन् । ‘छोरीबुहारी पढ्दा फाइदा आफूलाई नै हुने रहेछ भन्ने त्यतिबेला महसुस भयो,’ एक विद्यालयमा सहयोगीका रुपमा काम गर्दै आएकी सोनी भन्छिन्, ‘मैले जस्तै सबैले छोरीलाई र सानै उमेरमा बिहे भएर आएका बहुहरूलाई पनि पढाउने हो भने समाजमा परिवर्तन नआउँला भन्न सकिन्न ।’

[यो सकारात्मक कथा निर्माणमा शिखर इन्सुरेन्स नामक संस्थाले सहयोग गरेको छ । समाजका यस्तै अन्य सकारात्मक कथाहरु निमार्णका लागि शिखर इन्सुरेन्सले जस्तै तपाई पनि आर्थिक सहयोग गर्न सक्नुहुन्छ । समाजकै सहयोगमा समाजकै सकारात्मक कथा भन्ने हाम्रो प्रयत्न छ । आउनुहोस् हातेमालो गरौं ।] हाम्रोकथाबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here