• शुक्रऋषि चौलागाई

अमन सुवेदी, नेपाल टेलीकमका जागीरे हुन् । जागीरको व्यस्ततामा अधिकांसले अन्य काम गर्न भ्याइरहेका हुँदैनन् तर उनको जागीरे बाहेकको समय पनि मानवीय सेवामा समर्पीत छ । ४२ वर्षिय सुवेदी अहो रात्र वृद्धवृद्धा स्याहार सुसारमै खटीएका हुन्छन् । उनले जेष्ठ नागरिकको स्याहार सुसारमा समय र श्रम मात्र खर्च गरेका छैनन्, आधा जसो तलव पनि वृद्धाश्रम सञ्चालनमै लगाएका छन् । सुवेदी, नेपालगञ्जस्थित निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता पनि हुन् । उनले आफुलाई वृद्ध, वृद्धाको सेवक र संरक्षकका रुपमा उभ्याएका छन् । ०७३ वैशाख १५ मा स्थापित वृद्धाश्रम हाल नेपालगञ्ज– ६ फुल्टेक्रामा भाडामा सञ्चालित छ । आश्रममा भएका वृद्धवृद्धाको सेवा, स्याहारसँगै सुवेदीको अर्को महत्वपूर्ण काम–अलपत्र वृद्धावृद्धाको खोजी, उद्धार, पालन पोषण र पारिवारिक पुनर्मिलन पनि हो ।
केन्द्रका संस्थापक अध्यक्ष सरिता खनाल हुन् । अन्तराष्ट्रियस्तरको तालिमप्रप्त खनाल वृद्ध वृद्धाको खानपीन, सरसफाई र स्याहार सुसारमा खटीएकी भेटीन्छन् । खनालका अनुसार– हाल केन्द्रमा १३ वृद्ध, ८ वृद्धा र एक किशोर गरि २२ जना संरक्षणमा छन् । ति मध्ये अधिकांश परिवार, सम्पति नभएर आएका होइनन्, परिवारबाट तिरस्कृत भएर आएका हुन् । अहिलेसम्म १९ जनाको परिवारमा पुनर्मिलन गराइसकिएको पनि खनालले जनाइन् । मासिक ३० हजार भाडामा सञ्चालित वृद्धाश्रममा ४ जना कर्मचारी पनि रहेका छन् । वृद्धाश्रम अन्तगर्त विभिन्न सञ्जालमार्फत असहाय वृद्धवृद्धाको खोजी तथा उद्धार गर्ने गरिन्छ ।

उद्धार गरिएकाको पालन पोषण गर्ने र अन्ततः पारिवारिक पुनर्मिलन गराउने गरिएको पनि अध्यक्ष खनालले जानकारी दिइन । विशेषतः जन्म दिन, स्मृति दिवस लगायतका अवसरमा सहयोग जुटने गर्दछ । विभिन्न मनकारी व्यक्ति तथा संघ संस्थाको (खाना खुवाउने, लुगा लत्ता, खाद्य आदि ) सहयोगले केन्द्र सञ्चालनमा राहत पुगेको छ । खानपीन र स्याहार सुसारमा मासिक डेढ लाखको खर्च हुने गरेको केन्द्रले जनाएको छ । वृद्धवृद्धालाई नियमित स्वास्थ्य परामर्श, परिक्षण, उपचार आदि पनि गर्ने गरिएको छ ।

अलपत्र एवं वेजोग अवस्थामा रहेकाहरुको उद्धार एवं संरक्षण गर्र्ने केन्द्रको लक्ष्य छ तर त्यसका लागि अनेकन चुनौती पनि छन् । बागेश्वरी मन्दिरमा मात्र ५० को हाराहारीमा असहाय(भिखारी)हरु वेजोगमा छन् । तीनीहरुको संरक्षण गर्ने जिम्मा लिन आफुहरु तयार रहेको केन्द्रका उपाध्यक्ष सुवेदीले जनाए । त्यसका लागि नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा धवलशमशेर राणासँग अनुरोध गरिसकिएको समेत सुवेदीले खुलासा गरे ।
पात्र र प्रवृत्ति
दाङका भिमप्रसाद गौतम एकदिन बागेश्वरी मन्दिर छेउ अचेत अवस्थामा भेटीए । केन्द्रकी अध्यक्ष खनालले उद्धार गरेर आश्रममा ल्याइन तर बचाउन सकिनन् । रक्सीका अम्मली गौतमको फोक्सोमा क्षती पुगीसकेकाले बचाउन नसकिएको हो । हेकुली निवासी गौतमको ५४ दिनपछि नर्सिङहोममा निधन भयो । ३ दिनसम्म पनि परिवारको अत्तो पत्तो नलागेपछि खनालले नै दाहसंस्कार गरिन् । यस्तै अलपत्र अवस्थामा भेटीएका राम बहादुर वलीलाई हालै मात्र उद्धार गरेर केन्द्रमा ल्याइएको छ । दाङ नारायणपुर निवासीे ६७ वर्र्षीय वली परिवार÷आफन्त कोही नभएपछि भौतारिदै नेपालगञ्ज पुगेका हुन् । सडकमा वेवारिसे अवस्थामा फेला परेका वलीलाई नुहाई धुवाई गरेर अहिले पूर्ण स्याहार सुसारमा राखीएको छ । वली जस्तै परिवार नभएका मात्र हैन, बाबु आमा पाल्न सक्ने रामै्र परिवारका चर्चीत व्यक्तिहरु पनि वेवारिसे झै भएका छन् । कतिको कन्त वेजोग पनि भएको छ ।
साहित्यकार एवं लेखक भुपेन्द्र प्रकाश शर्मा पनि आश्रममा शरण लिन बाध्य भए । नेपालगञ्ज– १६ निवासी चित्रकार एवं शिक्षाप्रेमी शर्माको परिवारमा खटपट भएपछि करिव डेढ वर्ष आश्रीत रहे । शर्मालाई एक महिना अघि मात्र पारिवारिक पुनर्मिलन गराइएको छ तर पनि उनी परिवारसँग सन्तुष्ट छैनन् । माथि उल्लेखीत पात्र मात्र हैन, यी र यी जस्तै अन्य वृद्ध÷वृद्धाको पनि अवस्था उस्तै छ ।

नेपालगञ्जको भेरी वृद्धआश्रममा पनि ३ जना जेष्ठ नागरिक आश्रय लिएर बसीरहेका छन् । उनीहरुका कथा पनि कम्ती पीडादायी छैनन् । जेष्ठ नागरिकको पीडा र वेजोगमा जे जस्ता घटना र कारण रहेपनि मूल कुरा परिवार र समाजको सोंच र प्रवृति हो । प्रवृति परिवर्तन सहज छैन तर असम्भव पनि छैन । तसर्थ अभिभावकप्रतिको जिम्मेवारीबाट हटनेलाई हतोत्साही गर्दै सभ्यसमाज निर्माणमा हातेमालो आवश्यक छ ।

अवस्था 
सामान्यतया ६० वर्षभन्दा माथिलाई वृद्धावस्था मानिन्छ । उमेर ढल्कीदै गएपछि शारीरिक क्षमतामा कमी हुँदै जाने, शारीरिक असन्तुलन बढ्दै जाने, शरीरलाई क्षति पु¥याउने तत्वहरू शरीरमै बढेर शरीरको कार्य प्रणालीमा अवरोध उत्पन्न हुने र त्यस्ता कारण वा अवस्थाहरूले गर्दा विभिन्न प्राणघातक रोग निम्तिने हुन्छ । फलस्वरूप मृत्यु नै वृद्धावस्थाको विकल्प हुनपुग्छ ।

विश्वको एक तिहाइ जनसंख्या वृद्धावस्थामा रहेको विभिन्न तथ्याङ्कले देखाउँछ । नेपालमा औसत आयु ५६ दशमलव १ बाट बढेर ६० वर्ष पुगेको छ । विस २०६८ सालको जनगणना अनुसार नेपालमा २४ लाख ६९ हजार ६० बर्र्ष नाघेका जेष्ठ नागरिक छन् ।


जेष्ठ नागरिकको सम्मान र संरक्षण परिवारले मात्र हैन, राज्यले पनि गर्न सकेको छैन । जवकी नेपालको संविधानले ६० वर्ष उमेर पुरा गरेकालाई वृद्ध मानेको भएता पनि राज्यले दिने भनेको सेवा सुविधा र अधिकार पनि सहजै पाउन सकेका छैनन् । अहिले ७० वर्ष पुगेकाले मात्र सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् । मानव अधिकारको विश्वब्यापी घोषणापत्र १९४८ को धारा २५ ले वृद्ध अवस्थाको सामाजिक सुरक्षाको अधिकार र आर्थिक÷सामाजिक अधिकारको ब्यवस्था गरेको छ ।
परिवारमा स्याहार सम्भार गर्ने कोही नभए वा आर्थिक रुपमा बिपन्न भएमा जेष्ठ नागरिकको संरक्षण गर्ने दायित्व राज्यले लिनु पर्दछ । तर नेपालमा जेष्ठ नागरिकका लागि सरकारी तवरबाट ठोस काम भएको पाइदैन । विभिन्न नीति नियम बनाइएको भएतापनि तिनको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । सरकारले सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य, यातायातमा सेवा दिने प्रयास गरेपनि पूर्ण प्रभावकारी भएको छैन ।

पछिल्लो समय निजी तवरबाट केही वृद्धाश्रम सञ्चालनमा आए पनि तिनमा सबैको पहुँच पुग्न सकेको छैन । वृद्धहरूलाई वृद्ध भत्ता दिनुका साथै मृगौला, मुटु तथा क्यान्सर रोगीहरूलाई आर्थिक रूपमा केही सहयोग पु¥याउँदै आए पनि पर्याप्त र प्रभावकारी छैन । ज्येष्ठ नागरिकका पक्षमा कानुनले प्रत्याभूत गरेका विषयलाई समेत पूर्णरूपमा कार्यान्वयन तथा अनुगमन गर्न सकिएको देखिँदैन ।

समस्या
वृद्ध एक अवस्था मात्र भएपनि समस्या अनेक छन् । स्वयं आर्जित भन्दा पनि अरुबाट सिर्जीत समस्याहरुको पीडा उनीहरुमा बढी छ । वृद्ध त एक दिन सबैलाई हुनुनै छ तर पनि कतिपयको व्यवहार आफु कहिल्यै वृद्ध हुनु नपर्ने झै हुन्छ । ढल्कीदो उमेरका कारण स्वास्थ्य कमजोर बन्दै गइरहेको स्थितीमा उनीहरुलाई थप पारिवारिक माया, स्याहार, सुरक्षा र पोषिलो खुराकको आवश्यक्ता हुन्छ ।

शारिरीक अशक्तताका साथै आर्थिक तथा सामाजिक हैसियत पनि सामान्यीकरण हँुदै गएपछि आफनै कोखका छोरा, छोरी समेत बैरी सरह बनेका उदाहरण छन् । सन्तान नभएका, आर्थिक अवस्था कमजोर भएका परिवारमा मात्र होईन, घरभरि सन्तान भएका, सम्पन्न र सम्भ्रान्त परिवारका वृद्धवृद्धाले समेत अपहेलित हुने, कुटपिट लगायतका हिंसाको शिकार हुनु परेको छ । जिवन भरि दुख कष्ठ गरेर जम्मा गरेको धन आफैले उपभोग गर्न नपाई अपहेलित र दयनीय जीवन जिउनु परेको छ । ६० प्रतिशत रोग पनि वृद्धावस्थामै लाग्छ । परिवारबाट संरक्षण र समाजबाट मान, सम्मान पाउनु पर्ने समयमा अपहेलित र तिरस्कृत जीवन निर्वाह गरिरहनु परेको अवस्था छ । अधिकांस परिवारमा छोरा–बुहारी रोजगारी या कामकाजीमा छन् । छोरा बुहारी व्यस्त भएपछि बालबच्चा स्याहार्ने र घर कुर्ने काम पनि बृद्धबृद्धाकै काँधमा आईलागेको छ ।
सरकारले दिदै आएको सामाजिक सुरक्षा पनि सहज उपलव्ध छैन । पाइएको भत्ता पनि सही सदुपयोग गर्न सकिरहेका छैनन् । कतीपयका छोरा छोरीले नै दुरुपयोग गरिरहेको पनि पाइन्छ । जेष्ठ नागरिकका लागि यातायातमा छुट्टै सिट, शुल्क मिनाहाको व्यवस्था गर्नु पर्ने हो तर कार्यान्वयन कसले गरिदिने ?
वृद्धवृद्धाप्रति सकारात्मक सोचको अभाव, पाश्चात्य संस्कृतिको प्रभाव र सरकारी ठोस नियमाभवको आदिका कारण पनि ज्येष्ठ नागरिकको स्वास्थ्य, रेखदेख, सुरक्षा एवं पुनस्र्थापनामा समस्या छ । अन्य देशमा स्वास्थ्य विमा, विशेष खालका अस्पताल तथा सामाजिक संरक्षणजस्ता सुविधाका कारण जीवनरक्षा सुनिश्चित हुन्छ तर हाम्रो देशमा वृद्धवृद्धाहरूको जीवन कष्टकर छ ।

गरिनुपर्ने

जेष्ठ नागरिकहरुको सहज जीवनयापनका लागि गर्नु पर्ने धेरै छ । चाहे त्यो घर परिवारले होस् या सरकारले । सर्वप्रथम जेष्ठ नागरिकले परिवारका सदस्यसँगै आत्मसम्मान र स्नेहका साथ बस्न पाउनु पर्ने हो । तथापी त्यसो भएको पाइदैन । जेष्ठ नागरिकको पालनपोषण गर्ने प्रमुख दायित्व सन्तानको नै हो । तर सन्तान नै छैनन्, पालन पोषण गर्ने अवस्था नै छैन भने त्यो दायित्व सोतः राज्यको काँधमा आउँछ । जेष्ठ नागरिकको सवाल, उनीहरुको मात्र सवालका रुपमा बुझीनु हुँदैन । यो आम सरोकारको विषय हो र बनाईनु पर्दछ ।
विकसित राष्ट्रहरूमा वृद्धवृद्धाहरूका लागि सरकारी तहबाट नै विभिन्न योजनाका साथ विभिन्न सुविधाको व्यवस्था गरिएको हुन्छ । वृद्धवृद्धाका लागि छुट्टै वृद्ध अस्पताल, वृद्ध भत्ता, स्वास्थ्य विमा, स्तर र ओहदाअनुसारको गास–बासको व्यवस्था, अवकाशपछि क्षमताअनुसारको कामको व्यवस्था, वृद्धवृद्धाहरूको मनोरञ्जनका लागि विभिन्न वृद्ध क्लव तथा सजिलै पढ्न सकिने अखबारको व्यवस्था, सुलभ यातायातको व्यवस्था आदि उपलब्ध गराइएको पाइन्छ । हाम्रो देशमा भने वृद्धहरूका लागि दर्घिकालिन योजना, कार्यक्रमहरु ल्याएको पाइदैन । ल्याइएपनि प्रभावकारी कार्यान्वयन नै हुँदैन । वृद्धाश्रम, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र तथा क्लवहरूको पनि प्रयाप्त व्यवस्था छैन । अस्पतालमा वृद्धवृद्धाहरूका लागि छुट्टै वार्डको व्यवस्था पनि गरिएको पाइँदैन ।
वृद्ध भत्ता सहज उपलव्ध, निशुल्क औषधोपचार, यातायातमा आधाशुल्क मिनाहा र समान वृद्ध भत्ताको व्यवस्था गरीनुपर्ने आवश्यक्ता छ । यस्तै ज्येष्ठ नागरिकसँग नयाँ पुस्ताको अन्तरघुलन गर्न पनि जरुरी छ । वृद्धवृद्धाहरूको हेरचाह लगायत सेवाका लागि पाठ्यक्रममै विशेष कोर्ष समावेश गरेर आवश्यक जनशक्ति उत्पादन आदिका लागि पनि सरकारले ठोस कार्यक्रम तर्जुमा गर्नुपर्ने देखीन्छ । उनीहरुको हक अधिकारको सुनिश्चितता, जीवन रक्षा, मान÷सम्मान र आवश्यक सेवा÷सुविधाका लागि थप नीति नियम बनाइनु पर्ने खाँचो छ । साथै बनाइएका नीति नियमहरुको पनि प्रभावकारी कार्यान्वयन हुन जरुरी छ ।
अनुभवले खारिएका, ब्यवहारले परिपक्व भइसकेका इतिहासका साछीका रुपमा रहेका जेष्ठ नागरिकलाई पे्ररणाका श्रोतका रुपमा पनि लिइनुपर्छ । उनीहरुको ज्ञान र अनुभवबाट हामीले धेरै कुरा सीक्न सक्छौं । सरकारले समेत उनीहरुबाट आवश्यक सहयोग लिन र पाउन सक्छ । जेष्ठ नागरिकको सेवा गर्नु हरेक नागरिकको कर्तव्य पनि हो । हामी सवैले आआफनो कर्तव्य निर्वाह ग¥यौं भने मात्र पनि जेष्ठ नागरिक हेला र तिरस्कारको शिकार बन्ने छैनन् ।

(लेखक चौलागाई नेपाल पत्रकार महासंघ बांकेका पुर्व अध्यक्ष हुन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here