सुर्खेतलाई चिनाउने एउटा माध्यम हो बुलबुले ताल ।
प्रदेश नंबर ६ को राजधानी बिरेन्द्रनगर सुर्खेतमा अवस्थित यो तालमा जमिनमुनिबाट बुलबुल गर्दै पानी आउने भएर बुलबुले ताल नामकरण गरिएको यहाँका स्थानीय बताँउछन् ।

समुन्द्र सतहबाट लगभग ६५७ मिटर को उचाइमा अवस्थित छ यो ताल । पूर्व–पश्चिम राजमार्गमा पर्ने कोहलपुरदेखि उत्तरतर्फको रत्न राजमार्ग हुँदै ८७ किलोमिटरको यात्रापछि सुर्खेत उपत्यका वीरेन्द्रनगर बजार पुगिन्छ । यो ताल वीरेन्द्र नगरको सुर्खेत जुम्ला सडक खण्डबाट झन्डै एक किलोमिटर दूरीमा रहेको छ । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरबाट सवारी सधानमा झन्डै २० मिनेटमा यो तालमा पुग्न सकिन्छ । तालमा प्रवेशका लागि १० रुपियाँ टिकटको व्यवस्था गरिएको छ ।

 

यो तालले जति चर्चा कमाए पनि यो ताल त्यस्तो ठूलो र विचित्रको भने छैन । सानो तालले चर्चा कमाएपछि यसलाई ठूलो बनाइएको स्थानीय रामजीप्रसाद कोइरालाले बताए । बुलबुले ताल सानो रहेको छ भने यो तालभन्दा तल अर्को ठूलो ताल रहेको छ । बुलबुले तालमा कम्पाउन्ड लगाइएको छ भने नुहाउन तथा लुगा धुनका लागि १० वटा धाराको व्यवस्था गरिएको छ । जहाँ एकातिरको ५ वटा धारा महिलाले प्रयोग गर्छन् भने अर्कोतिरको ५ वटा धारो पुरुषले प्रयोग गर्छन् ।

ताल आसपासको क्षेत्रमा हरियाली, रमणीय, शान्त र सुन्दर वातावरण रहेको छ । तालको वरिपरि बगैँचा र पिकनिक स्पट निर्माण गरिएको छ । एकान्त र शान्त मन पराउनेहरूका लागि मन बहालाउन यो स्थल एकदमै उपयुक्त छ ।

ताल संरक्षणका लागि पहल भए पनि ताल क्षेत्रमा फोहोरमैला, प्लास्टिक र जलकुम्भी झार फस्टाएको छ । ताल क्षेत्रभित्र जलकुण्ड, बगैँचा, शौचालय, सडक निर्माण गरेपछि उचित संरक्षण भएको भने छैन । १ महिना अगाडि नेपाली सेनाले तालको सरसफाइ गरे पनि त्यसपछि भने सरसफाइको काम हुन नसकेको स्थानीयले बताए ।

तालको छेउमा पर्खाल लगाइए पनि कतै भत्किएको छ भने रेलिङसमेत लगाइएको छैन । ताल आसपासको फोहोर मैला व्यवस्थापन, तालको छेउमा बस्नेलगायतका पूर्वाधार हुने हो भने यहाँ आउने पर्यटकका लागि आकर्षण थप्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here