रानीपोखरी पुननिर्माणमा काठमाडौं महानगरपालिकाले गरेको लापरवाहीका कारण अझै भग्नावशेषका रुपमा छ । पुननिर्माणका लागि आधुनिक निर्माण साम्रगी प्रयोग पछि यसको बिरोध भएको थियो । यसका लागि महानगरपालिकाले खर्च गरेको ३ करोड बालुवामा पानी बराबर भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष रानीपोखरी पुनर्निर्माणको उद्घाटन गरेकी थिइन् । काठमाडौं महानगरपालिकाले ०७३ कात्तिकमा सक्ने गरी रानीपोखरी निर्माण कार्य अघि बढाएको थियो । यसका लागि १० करोड रुपैयाँ बजेट पनि विनियोजन भएको थियो ।

महानगरपालिकाले नक्साअनुसार पोखरी निर्माण गर्न माछा सारेर वरिपरि पर्खाल लगाउन थालेको थियो । पोखरीमा जमेको माटो हटाउँदा पिँधमा बालुवा भेटियो । बालुवामा पानी नअडिने भएकाले अब पिँधमा टायल राख्ने कि माटो भन्नेबारे महानगरपालिका अलमलमा छ ।

‘नक्साअनुसार पोखरीको पानी झिकियो ।माछा अन्यत्र सारियो । पोखरीमा जमेको माटो निकाल्दै जाँदा पिँधमा बालुवा भेटियो,’ महानगरपालिकाका सूचना अधिकृत महेश काफ्लेले भने, ‘बालुवामा पानी त अडिन सक्दैन । यस्तो अवस्थामा के गर्ने भनेर नक्सामा केही भनिएको छैन । यो कारण पनि निर्माण अलपत्र परेको हो ।’ रानीपोखरी पुनर्निर्माणको डिजाइनमा अत्याधुनिक बगैँचा बनाउने उल्लेख छ ।

निर्माण सामग्री विवाद टुंगियो
रानीपोखरीको मध्यभागमा रहेको मन्दिर पुनर्निर्माणमा कस्ता सामग्री राख्ने भन्नेमा काठमाडौं महानगरपालिका र पुरातत्व विभागबीच विवाद थियो । महानगरपालिकाले अत्याधुनिक बनाउने गरी काम थालेको थियो । तर, पुरातत्व विभागले पुरानै सामग्री प्रयोग गर्नुपर्ने भन्दै रोक्न आदेश दिएपछि मंसिरदेखि निर्माणको काम प्रभावित भएको थियो ।

तर, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले मन्दिरको विषय टुंगिएको जानकारी दिए । विभागका कारण रानीपोखरी निर्माण अलपत्र नभएको उनले बताए । ‘विभागको कन्सर्न मन्दिर मात्रै हो । विभागले मन्दिर निर्माण मात्रै नगर्नु भनेको हो । पोखरी निर्माणमा विभागको कुनै सरोकार छैन,’ महानिर्देशक दाहालले भने, ‘विभागले नै मन्दिर निर्माण गर्ने सहमति भइसकेको छ । सोअनुसार टेन्डरसमेत आह्वान गरिएको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here