बिना पोखरेल
असोज २६, काठमार्डाै ।
नेपालकै सबैभन्दा ठूलो गढी कुन हो तपाइलाई थाहा छ ? मकवानपुरको गढीलाई नेपालको सबैभन्दा ठूलो गढीको रुपमा लिइन्छ । यो गढीमा अझै पनि पुराना दरबारसहित विभिन्न संरचनाहरू भग्नावशेषको अवस्थामा रहेको छ ।

पृथ्वीनारायण शाहले एकीकरण अभियान थालेको ऐतिहासिक मकवानपुर गढी दरबार जीर्ण अवस्थामा पुगेको छ । उचित मर्मत सम्भारको अभावका कारण दरबार खण्डहर अवस्थामा पुगेको हो ।

हेटौंडाको बुद्धचोकबाट झन्डै १७ किलोमिटर दूरीमा रहेको ऐतिहासिक मकवानपुर दरबार क्षेत्रमा सुरक्षाका लागि बनाइएका अग्ला ढुंगाको पर्खाल चर्किएका छन् । गढीको पर्खालमा झार पलाएको छ भने ठाउँ ठाउँमा चर्किएको छ ।

पृथ्वीनारायण शाहको ससुराली घरको रुपमा रहेको यही दरबार क्षेत्रबाट उनले नेपाल एकीकरणको अभियानको सुरुवात गरेका थिए । मकवानपुर गढी गाउँपालिका २ को बाघ भैरव सामुदायिक वनमा रहेको यो स्थानमा मकवानपरे राजा मुकुन्द सेनकी रानीले यहाँ रानी चौतारा बनाउन लगाएकी थिइन । उक्त चौतरा अझै पनि देख्न सकिन्छ ।

उक्त स्थानमा अझै पनि पुराना बन्दुकका नाल, गोलाहरू भेटिने गरेको स्थानीय बताउँछन् । मुकुन्द सेन पृथ्वीनारायण शाहका ससुरा हुन् । यहाँ चारैतिर अग्लो पर्खालले घेरेको सेनको दरबार थियो । मकवानपुर राज्य विजय हासिल गर्नका लागि त्यसबखतको शक्तिशाली राज्य मकवानपुरकी राजकुमारीसँग पृथ्वीनारायण साहले बिहे गरेको इतिहासमा उल्लेख गरिएको छ ।

गढी दरबार कब्जा गरेपछि पृथ्वीनारायण शाहले सेनाको एक टुकडी लिएर मकवानपुरको सुपारेटारमा पुरानो गोरख गणको स्थापना गरे ।

यो दरबारले झन्डै ५ सय ५० वर्षको इतिहास बोकेको छ । सुरुमा मकवानपुर गढीमा सेन वंशका राजा मुकुन्दसेनले राज्य आरम्भ गरेका थिए । यहाँ सेन वंशका १० पुस्तासम्म ३ सय बर्ष राज्य गरेको इतिहासमा उल्लेख गरेको पाइन्छ ।
यो क्षेत्रमा गोर्खाली सेनाले वि.सं. १८१९ माघ १० गते अंग्रेज फौजलाई पराजित गरेका थिए । ३ हजार बढी अंग्रेजको फौजलाई गोरखाली सेनाले पराजित गरेका थिए । यो क्षेत्रलाई सरकारले नेपालको एक सय पर्यटकीय गन्तव्यस्थलमध्ये सुचीमा राखेको छ ।

हरेक वर्ष यो क्षेत्रको अवलोकनका हजारौंको संख्यामा आन्तरिक पर्यटक यहाँसम्म आउने गरेका छन् । तर सरकारी निकायले भने यो महत्वपूर्ण स्थानलाई बेवास्था गरेको स्थानीयबासीको गुनासो छ ।

यो गढीलाई संरक्षण गरेर धेरै पर्यटक भित्राउन सकिने स्थानीय बासीन्दाले बताए । यहाँको विजयी किल्लालाई विजय पार्क बनाएर पदमार्ग सुरु गर्न उनीहरुको सुझाव छ । गढी सेन वंशीय राजाहरूको विरासतको रुपमा रहेको मकवानपुर दरबार करिब १ सय ३५ रोपनी क्षेत्रमा फैलिएको छ ।

हेर्नुहोस भिडियो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here