पवित्रा खड्का (nepalnews.com)

गत आइतबार नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको अकस्मात हृदयाघात (हर्ट अट्याक) का कारण निधन भयो। केही दिनयता राजधानीको चिसो बढिरहँदा भएको भट्टराईको निधनले धेरैलाई स्तब्ध बनायो।

आइतबार दिउँसोभर बोर्डकै काममा व्यस्त उनी राति बितेको खबर धेरैले पत्याउन सकेनन्। चिसो मौसममा यी चर्चित अभिनेतालाई हृदयाघातले लुसुक्क लग्यो।

पछिल्लो समय चिसो अत्यधिक बढिरहँदा स्वास्थ्यप्रति सचेत रहनुपर्ने चिकित्सकको सुझाव छ। हरेक याममा स्वास्थ्यप्रति जागरुक रहनुपर्ने भए पनि जाडोयाममा अलि बढ्तै चनाखो हुनुपर्ने उनीहरूको राय छ।

हृदयाघात के हो?

फिजिसियन डा. सन्तोष न्यौपानेका अनुसार मुटुसम्बन्धी विभिन्न समस्यामध्ये हृदयाघातलाई गम्भीर रूपमा लिने गरिन्छ। मुटुलाई सामान्य काम गर्नका लागि मुटु खुम्चिनु र फैलिनु पर्नेहुन्छ।

रगतको नसा खुम्चिने र फैलने प्रक्रियामा रगतको नसा पहिल्यै खुम्चिएमा समस्या आउँछ, यस्तो अवस्थामा मुटुमा पर्याप्त अक्सिजन पुग्दैन। यसरी मुटुमा अक्सिजन अपुग हुने अवस्थालाई हृदयाघात भनिन्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार हृदयाघातका कारण विश्वमा हरेका वर्ष १ करोड ७१ लाख मानिसको मृत्यृ हुने गरेको छ।

मौसमअनुसार उपयुक्त जीवनशैली र उचित खानपानमा ध्यान दिन नसक्दा यस्तो समस्या देखिने गरेको छ।

डा. न्यौपाने भन्छन्, ‘शारीरिक व्यायामको अभावले मुटुको रक्क्तनलीमा बोसो जम्मा भई साँघुरो हुन्छ र, मुटुलाई चाहिने अक्सिजनको मात्रा कमी हुँदा हदृयघात हुन्छ।’

डा.न्यौपानेका अनुसार हदृयाघातको प्रक्रिया मानिसमा १० वर्षेको उमेरदेखि नै सुरु हुन्छ । तर, ४० वर्षभन्दा बढी उमेरका मानिसमा यो समस्या बढी देखिने गरेको छ।

हृदयाघात हुनुअघिका केही संकेतहरू

१.छाती भारी भएको महसुस हुनु अनि मुटुको चाल अनियमित हुनु हृदयाघात हुनुपूर्व देखिने एक लक्षण हो। अकस्मात रिंगटा लाग्ने र मुटुको चाल विस्तारै कम हुँदै जान्छ।

२.चिरचिर पसिना छुट्नुका साथै अत्यधिक पसिना आउनसक्छ। मुटुको समस्या आउन थालेमा बिहान र बेलुकाको समयमा सामान्य अवस्थामा भन्दा बढी पसिना आउने हुन्छ।

३. फोक्सोमा आवश्यक हावा प्रवाह नहुने भएकाले बिरामीलाई सास फेर्दा असहज महसुस हुन थाल्छ। यो समस्या हृदयाघात हुनुभन्दा अघि नै देखा पर्दछ।

४. हृदयाघात हुनुअघि व्यक्तिमा देब्रेकुम, पाखुरा, गाला र पेटमा सामान्य दुखाइ हुने गर्छ। छाती दुख्दा शरीरका यी भागमा पनि दुखाइ महसुस भएको अवस्थामा मुटुको समस्या छ भनी बुझ्न सकिन्छ।

५.सुत्न गाह्रो हुन्छ, अधिकांश व्यक्तिले हृदयाघात हुनुभन्दा पूर्व इन्सोम्निया समस्याबाट ग्रसित भएको महसुस गर्छन्। यसका साथै ध्यान एकत्रित हुन नसक्ने र एक्कासि चिन्ता बढ्ने हुन्छ। इन्सोम्नियाअन्र्तगत व्यक्तिलाई निन्द्रा नलाग्ने, लागिहाले पनि ढिलो लाग्ने र छिट्टै ब्युँझने हुन्छ।
के गर्ने?
–मुटुको समस्या देखिएका व्यक्तिले नुन कम सेवन गर्नुपर्छ। धुम्रपान मद्यपानबाट टाढौ रहनुपर्छ।धुलो–धुवाँबाट जोगिनुपर्छ।

–चिल्लोे तथा बोसोयुक्त खानेकुरा नखाने, दिनमा २–३ लिटर पानी पिउने गर्नुपर्छ। जाडोयाममा पोषिलो तथा झोलिलो खानेकुरामा बढी ध्यान दिनुपर्छ।

जाडोयाममा बिहान वायुप्रदूषणको मात्रा बढी हुने हुँदा ‘मर्निङवाक’ वा व्यायाम गर्न निस्कनु उचित हुँदैन। घाम लागेपछि मात्र ‘मर्निङवाक’का लागि निस्कनु उचित हुन्छ।

– चाहिँदो मात्रामा फलफूल खानुपर्छ। प्रत्येक दिन एउटा फल (स्याउ वा कुनै फल) सेवन गर्नाले यसले मुटुलाई सुरक्षा प्रदान गर्दछ।

–नियमित ब्लड प्रेसर र स्वास्थ्य जाँच गराउनुपर्छ। आहार, कसरत र सकारात्मक सोचलाई ध्यान दिनुपर्छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here