काठमाडौं, १ असारःपर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा बस्तीभन्दा माथिबाट आएको पहिरोले पुरिएर दुई घरपरिवारका ९ जनाको मृत्यु भएको छ। शनिबार राति ७ बजेपछि आएको वर्षासहितको पहिरोले स्थानीय तुलबहादुर थापाको परिवारका ६ जना र विकास विकको परिवारका तीन जनालाई थाहै नदिई पहिरोले पुरेको छ।
पहिरोले पुरिनेमा ५३ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी थापा, नातिनी ८ वर्षीया बीबीसा र नाति १४ वर्षीय सम्राट थापा, तुलबहादुरकी विवाहित छोरी ३४ वर्षीय दीपा थापा र दीपाका छोरा १७ वर्षीय विवेक थापाको मृत्यु भएको छ । त्यसैगरी विकास विककी श्रीमती ३२ वर्षीया कमला विक तथा उनकी छोरी ८ वर्षीया प्रमिशा विक र १३ वर्षीय जेनिस बिक पनि पहिरोले पुरिएर ज्यान गएको छ। समाचार तयार पार्दासम्म जेनिश विकको शव भने भेटिएको थिएन। खोजी कार्य जारी छ।
तुलबहादुरका छोरा अम्मर थापा र बुहारी रिमाया थापा भने ज्यान जोगाउन सफल भएका छन् । उनीहरू घरदेखि झन्डै ५ सय मिटर परको डाँडामा पसल सञ्चालन गर्दै आएका थिए। उनीहरू पसलमै रहेका कारण ज्यान जोगिएको स्थानीय ऋषिराम पौडेलले जानकारी दिए। यता कमला विकका श्रीमान् विकास विक भने रोजगारीका लागि साउदीमा छन् । उनी लकडाउन खुले लगत्तै स्वदेश फर्किने तयारीमा थिए। दिनभरि स्थानीय रामप्रसाद रेग्मीको खेतमा धान रोप्न गएकी उनी साँझ घर फर्किएर थकाई मार्न नपाउँदै पहिरोमा पुरिइन्। तीनै जना परिवारको मृत्यु भएपछि साउदीमा रहेका विकास भावविह्ल बनेका छन् । नोबेल कोरोना भाइरसका कारण उनी फर्किन सक्ने सम्भावना छैन।
तुलबहादुरी छोरी दीपाको घर बागलुङको जैमिनी नगरपालिका–१ पैंयुथन्थाप हो। उनी कुश्मा बजारमा छोरा पढाएर बस्दै आए पनि छोराको एसईई परीक्षा अन्योल र लामो समयको लकडाउनका कारण माइतीमा गएर बसेकी थिइन् । उनका श्रीमान्समेत रोजगारीका लागि खाडीमुलुक साउदीमा छन्। आमाछोराको मृत्युपछि उनीको घर पैँयुथन्थापसमेत शोकमग्न बनेको छ। पहिरो गएलगत्तै कुश्माबाट पुगेको तीनवटै सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा राति १ बजेसम्म ३ वटा र बाँकी बिहान ५ वटा शव निकालिएको हो। जेनिश विकको भने खोजी भइरहेको पर्वतका प्रहरी प्रमुख विश्वराज अधिकारीले बताए।
मृतकहरूको शव दिनभरि स्थानीय स्वास्थ्य चौकीमा राखेर साँझ पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको छ। पोष्टमार्टम सकिएपछि सोमबार सामूहिक दाहसंस्कार गरिने स्थानीय प्रभु गुरुङले जानकारी दिएका छन।
बस्ती आसपासमा रहेका झन्डै आधादर्जन घर जोखिममा परेका छन्। उनीहरूलाई सुरक्षित स्थानमा बस्न प्रशासनले आग्रह गरेको छ।उनीहरूको पुख्र्यौली बसोबास सोही गाउँको ढकालबारीमा थियो। उक्त स्थानमा समेत पहिरो र बाढीको समस्या भएपछि पाँच वर्षअघि मात्र जग्गा किनेर काउलेमा आएका थिए।
यसैबीच पीडितलाई समवेदना दिनका लागि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, प्रतिनिधिसभाका सांसद पदम गिरी, गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमान, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्साल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीलगायत गाउँ पुग्नुभएको थियो। तिमिल्सना, र सांसद गिरी हेलिकप्टर चार्टर्ड नै गरेर गाउँ आएका थिए। उनीहरूले पीडित परिवारलाई सान्त्वना दिनुका साथै घटनाको वस्तुस्थित बुझेर फर्किएका छन्।त्यसैगरी प्रदेश सरकारले प्रतिव्यक्ति ५० हजार रुपैयाँका दरले राहत रकम पीडित परिवारलाई हस्तान्तरण गरेको छ भने जिल्ला दैविप्रकोप उद्धार समितिले पनि पीडित परिवारलाई १ लाख रुपैयाँका दरले राहत प्रदान गरेको छ।