काठमाडौं, २ असारःसत्तारूढ नेपाल कम्युनिस्ट पार्टी संसदीय दलले संविधान संशोधनको मतदान प्रक्रियामा अनुपस्थित सांसदरूलाई स्पष्टीकरण सोधेको छ ।जेठ ३१ गते नयाँ नक्साअनुसार निशाना छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्तावमाथि मतदान भएर सर्वसम्मत पारित भएको थियो । सत्तारूढ दल, नेकपाकै चारजना सांसद अनुपस्थित भएर मतदान प्रक्रियामा सहभागी भएनन् ।

गोपालबहादुर बम, धनबहादुर बुढा, हरिबोल गजुरेल, शिवकुमार मण्डल संसद्‍मा त्यसदिन उपस्थित थिएनन् । उनीहरूलाई पाँच दिनभित्र अनुपस्थित हुनाको चित्तबुझ्दो जवाफसहितको स्पष्टीकरण माग गरिएको दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । “संविधान संशोधन प्रस्ताव पारित हुने दिन किन उपस्थित नहुनुभएको हो, त्यसको कारण खुल्नेगरी जवाफ दिन भनिएको छ । जवाफ पाँच दिनभित्र दिनुपर्नेछ । उहाँहरू सबैलाई हिजै पत्र पठाइसकिएको छ,” नेम्वाङले भने ।

अनुपस्थित सांसदहरूले जानकारी नगराएकैले स्पस्टीकरण सोध्नुपरेको नेम्वाङले बताएका छन् । “उहाँहरूले जवाफ दिनुहोला । संसदीय दलले स्पष्टीकरण माग गर्दै पत्र पठाइसकेको छ,” उनले भने । संसदीय दलले पठाएको पत्रमा दलको ह्विप अटेर गरेको आरोप लगाइएको छ ।

‘मिति २०७७/०२/३१ को प्रतिनिधिसभा बैठकमा उपस्थित भई संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न दलले ह्विप जारी गरेकोमा उक्त दिन तपाईं प्रतिनिधिसभा बैठकमा बिना पूर्वसूचना अनुपस्थित भई संविधान संशोधनको मतदान प्रकृयामा नै सहभागी नरहनुभएको देखियो । अतः दलको विधान, दफा ३० को उपदफा १ र २ अनुसार के कति कारणले अनुपस्थित हुनुभएको हो रु पत्र प्राप्त भएको मितिले ५ दिनभित्र दल कार्यालयमा उपस्थित भई लिखित स्पष्टीकरण दिनुहुन निर्देशन गरिन्छ,” नेकपा संसदीय दलले स्पष्टीकरण माग गर्दै भनेको छ ।

गजुरेलले शौचालयमा लडेर घाइते भएकाले मतदानमा सहभागी हुन नसकेको बताउँदै आएका छन् । उनले प्रमुख सचेतक देव गुरूङलाई उपस्थित हुन कठिनाइ भएको जानकारी गराएको पनि बताएका छन् । जवाफमा गुरूङले नै आउनु पर्दैन भनेकाले अनुपस्थित रहेको गजुरेलको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here