कोरोना संकटमा धेरैजसो दैनिक ज्यालादारी काम गर्ने श्रमिकहरु सडकमा आइपुगे । कतिपयले कोठा भाडा तिर्न सकेनन् भने कतिले दुई छाक खानाका लागि चुल्हो बाल्न सकेनन् । कोरोना संक्रमणले निम्त्याएको संकटबाट सडकमा आइपुगेहरुलाई रामेछाप मन्थलीका एकजना यूवा प्रदीप घिमिरे आशाको किरण बनेर आइपुगे ।
कोरोना संक्रमण रोक्नका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन सुरु गरेपछि सामान्य ब्यक्तिहरु संकटमा पर्न थाले । त्यो देखेर विभिन्न सहयोगी ब्यक्तिहरुको सहयोगमा उनले चैत १६ गतेदेखि अप्ठेरोमा परेकाहरुलाई राहत वितरण सुरु गरे । रामेछापसम्म पुगेर ४ सय हाराहारीलाई खाद्यान्न लगायतका सामग्री राहत, वितरण गरेको घिमिरेले बताए ।


राहत वितरणको क्रममा काठमाडौंमा घर डेरा तथा बसोबासको ठेगान नभएकाहरुका लागि भोजनको व्यवस्थापनमा जुट्न थाले । गत चैत २९ गतेदेखि उनले भोजन दैनिक २ सय जनालाई प्याकिङ खाना वितरण गर्न थाले ।
सरकारको आँखा नपुगेको स्थानमा रहेका ब्यक्तिहरुलाई भोजन वितरण गरेको र त्यसका लागि धेरै मानिसहरुले भोजन सहयोग गरेको उनले बताए ।
पहिलो लकडाउन अवधीममा उनले काठमाडौंका मैतिदेवी, पशुपति, थापाथलीको रामन्दिर, कालमोचन घाट, विष्णुमति पुल, वसन्तपुर लगायतका धेरै स्थानमा पुगेर उनले खानेकुरा वितरण गरे । लकडाउन खुलेपछि केही समय स्थगित गरेका उनले दोश्रो निषेधाज्ञा सुरु भएपछि फेरी भोजन वितरणको काम अघि बढाए, जुन अहिलेसम्म जारी राखेका छन् ।
साँझको समयमा आल्मुनियम बक्समा खाना प्याकिङ गरेर ति ब्यक्तिहरु रहेकै स्थानमा पुगेर उनले खानेकुरा वितरण गर्ने गरेका छन् । ति खानेकुरा बनाउँदा र वितरण गर्दा स्वास्थ्य प्रोटोकल अनुसार माक्स, पिपिई, पञ्जा लगाएर गर्ने गरेको उनले सुनाए ।
वितरण गर्ने खानामा जिरा मसिनो चामलको भात र प्रोटिन क्यालोरी पुगोस भनेर क्वाँटी तथा विभिन्न तरकारी मिसाएर बनाउने गरेको घिमिरेले बताए ।


सबै ब्यक्तिहरु घरभित्र रहेको बेला खतरा मोलेर भोका असाहाय, ह्युम पाइपभित्र बसेका, सडक किनारा, पाटीमा बास बस्नेहरुलाई खाने कुरा वितरण गरेको उनको भनाई छ ।
यसरी असाहाय भोकाहरुलाई खानेकुरा बनाएर वितरण गर्ने काम चुनौतिपूर्ण रहेको घिमिरे बताउँछन् । सहयोगीहरुबाट सहयोग प्राप्त गर्न कठिन रहेको, कहिले खाना बनाउँदा घरबेटीले दुःख दिने, कहिले ति स्थानसम्म खानेकुरा लैजानका लागि गाडिको समस्या हुने उनले सुनाए ।
दाताको सहयोग भए मंसिरसम्म सडकमा आइपुगेका असाहाय वर्गका ब्यक्तिहरुलाई खाना खुवाउने लक्ष्य राखेको उनले सुनाए । अहिले लकडाउन खुकुलो भएपनि काठमाडौंका धेरै स्थानमा मानिसहरु भोकै रहनुपर्ने अवस्था भएकोले उनीहरुको सहयोगका लागि आफू दाताको खोजीमा रहेको र उनीहरुको भोजनका लागि सहयोग गर्न घिमिरेले आग्रह गरेका छन् ।
निश्वार्थ समाजसेवामा रुचि भएका समाजसेवी प्रदीप घिमिरे सहयोगी दाताहरु र कोरोना संकट प्रभावितहरुको पुल बनेर उनीहरुको भोक मेट्न क्रियाशील रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here