लक्ष्मण दंगाल /नयाँपोष्ट

काठमाडौं, २० कार्तिक
शंखरापुर नगरपालिका वडा नंबर ६ का वडाध्यक्ष राधाकृष्ण श्रेष्ठले अभिनय गरेको नेवारी भाषाको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाल भाषाको ‘मयजुया मतिनां साःथें’ बोलको गीत हाइलाइट्स नेपाल युटुव च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा वडाध्यक्ष श्रेष्ठ र उनकी धर्मपत्नी ज्ञानश्री श्रेष्ठले अभिनय गरेका छन् । ज्ञानश्री श्रेष्ठ २०१३ को व्युटिशियन नेपाल आइकन तथा शंखरापुर सौन्दर्य कला व्यवसायी संघ नगरकमिटी अध्यक्ष समेत हुन् ।

रामकृष्ण सिंहको शब्द, संगित र स्वर रहेको सो गीतको एरेन्जर मोहित मुनाल रहेका छन् । म्युजिक भिडियोको निर्देशन तथा छायाङ्कन राज शाक्यको रहेको छ भने कोरश भोकल लसता जोशीको रहेको छ । निर्माता राधाकृष्ण श्रेष्ठ हुन् भने कोरियोग्राफी र श्रृङ्गारमा ज्ञानश्री श्रेष्ठ रहेकी छिन् ।

सम्पूर्ण गीतमा आफ्नो मायालुको बारेमा वर्णन गरिएको छ । आफ्नो मनपर्ने मान्छेले आकर्षण गरेका कुराका भाव गीतमा अभिब्यक्त भएको छ । गीतमा ‘तिम्रो मायाले तान्यो, तिम्रो नसालु आँखाले तान्यो, चन्द्रमा पनि चाहिदैन, तिम्रो रुपले मलाई तान्यो, सूर्यको किरण पनि चाहिएन, तिम्रो माया भए पुग्यो ।’ जस्ता भाव अभिब्यक्त भएको छ ।
यो गीतको कन्सेप्ट राज शाक्य, रामकृष्ण सिंह र ज्ञानश्री श्रेष्ठले तयार पारेका थिए ।

म्युजिक भिडियो साँखु बसपार्ककोे कलश पोखरी, शाल्खाको गाहिटी, कात्तिकेको फार्म हाउस, ढोक्सानको शिलादेवी मावि लगायतका स्थानमा छायांङ्कन गरिएको हो । गीत सार्वजनिक भएपछि नयाँ पोष्ट डटकमसँग कुरा गर्दै वडाध्यक्ष श्रेष्ठले भने–‘रमाइलोको लागि हामी श्रीमान श्रीमती टिकटक बनाउने गथ्यौँ । त्यो देखेर साथीहरुले म्युजिक भिडियोको प्रस्ताव गर्नुभयो । नेपाल भाषाको गीत थोरै रेकर्ड भइरहेको बेला भाषा संरक्षण पनि हुने भएकोले म्यूजिक भिडियो गरेका हौं ।’ आगामी दिनमा सामाजिक कामका साथ–साथै गीत संगीतको क्षेत्रमा पनि समय दिने वडाध्यक्ष श्रेष्ठले बताए ।

४ मिनेट १० सेकेन्डको सो गीत नेपाल टेलिभिजन, नेपा च्यानल, इन्डिजिनियस, नेपाल मण्डल लगायत विभिन्न टिभी च्यानलबाट पनि प्रशारण हुँदैछ ।

हेर्नुहोस भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here