–अप्सरा भुर्तेल
जसरी निरन्तर घुमीरहेको छ घडीको सियो
त्यसरी नै लम्काइरहनुपर्नेछन् यी पाइतालाहरु
जीवनका घुमाउरा यी उकाली–ओराली बाटोहरुमा
दिइरहेछ हरक्षण समयले चुनौती
लिइरहन्छ हरेक दिन
हरेक कुराका परीक्षाहरु
क्षितिज छुने–आकाश छुने रहरका यात्राहरुमा
म हारसँग नारिएरै भएपनि
विजयको एक सुदुर यात्रामा
घडिको सियो दौडिरहेझैँ
यात्रामा निस्किरहेको छु आमा
एक दौडको
थाहा छैन मैले
कुन–कुन समय दिनुपर्नेछ कस्तो–कस्तो परीक्षा
यात्राभरी
कति कुल्चनुपर्नेछ काँडा, ढुङ्गा र चट्टानहरुमाथि
के–के कुरामा लड्नुपर्नेछ
फगत निर्धारण गरेको होला समयले
जिन्दगीसँगको यो लडाइँमा
मैले शीरमा सजाएर हिँडेको छु चुनौती
हारको धारमा रेटिएर सकिनपनि सक्छ जिन्दगी
तर यात्रामा रगताम्मे भएरपनि
जित्नु छु जिन्दगीको अग्निपरीक्षाहरु
देखाउनु छ
मलाई लडाउन खोज्नेहरुलाई
संग्रह गरिरहेको छ समयले
तिरस्कार, अपमान र घृणाहरु
मिसिएर यी सबै एकैठाउँ बनेको छ बारुद
दन्किरहेको छ ज्वाला
नजिस्काउँनु समयले ओकल्नेछ आगो
अनि तापले पोलेपछि भन्नु छ कसैलाई
कमजोर नठान
अकाशझैँ फराकिलो छ
संघर्षको यो मैदान
त्यस्तै फराकिलो बनाएर छाती
तयार छु म जस्तोसुकै परीक्षा दिन
छैन म हारेको
आमा
टुट्नेछैन तिम्रो छोरीको हिम्मत
यदि छन भने भगवान
छुट्नेछैन माया गर्ने तिम्रो साथ
तिम्रो माया र आशीर्वाद
हतियार हुन जिन्दगीका चुनौती परास्त गर्ने
छरेर गए त के भो
कसैले दुखेको घाउमा नुन–चुक
घाउ बल्झाइरहन आए कोही
कसैले नापतौल गरिनै रहे पीडाको
म हेरिरहेछु मौन भई घडीको सियो
दिइरहेकीछु जिन्दगीका परीक्षाहरु
बर्षौदेखि झरेका मेरा आँसुहरु
सुकाउँदै लानेछ समयले
अपेक्षा छ मलाई एउटै कुराको
कि
मेरा आँसुका मूल्यहरुको पनि जीत हुनेछ
त्यो जीतले हराउनेछन् चुनौतीहरुलाई
अनि फक्रिरहनेछन खुसीहरु
मेरी आमाको मुहारमा
जो हृदयभरी कोरीरहेकी छिन
आफ्नो सन्तानको उज्ज्वल भविष्य