Image description

लरेन्स बचत तथा ऋण सहकारी संस्थाले १३ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । पुस १४ गते काठमाडौँको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेट,  केएल टावरको बैंकेट हलमा भएको सभामा संस्थाका अध्यक्ष अजय खनालले सञ्चालक समितिको तर्फबाट आव २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन तथा आव २०८०/०८० को लागि नीति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गरेका थिए । 
संस्थाको आर्थिक वर्ष २०७९/०८० मा सेयर पुँजीतर्फ ४८ लाख २५ हजार ९ सय रुपैयाँ कायम हुन गएको उल्लेख गरिएको छ । संस्थाले अघिल्लो आवको तुलनामा ४ दशमलव ३९ प्रतिशतले शेयर पुँजी वृद्धि भएको जनाएको छ ।


संस्थाले बचततर्फ १ करोड ८५ लाख ७० हजार  ९ सय ६७ रुपैयाँ ९२ पैसा सङ्कलन गरेको बताउँदै यो अघिल्ला आर्थिक वर्षभन्दा  ५६ लाख ७१ हजार ८ सय २६ रुपैयाँ १० पैसा थप भएको जनाइएको छ । त्यसै गरी संस्थाले आव ०७८/७९ को तुलनामा ४३ दशमलव ७९ प्रतिशत बचत वृद्धि गर्न सफल भएको जनाइएको छ ।


सो अवसरमा बोल्दै संस्थाका प्रमुख सल्लाहकार केशव प्रसाद दंगालले अन्य सहकारीको बिचमा लरेन्स सहकारीले नमुना सहकारीको रूपमा आफूलाई स्थापित गर्न सफल भएको जानकारी दिए । उनले शिक्षामा क्षेत्रमा लागेका अनुशासित व्यक्तिहरूको धेरै लगानी रहेको बताउँदै संस्थाको ब्यालेन्स सिट सानो भए तापनि सुन्दर रहेको बताए । उनले सबै इन्डिकेटरहरु राम्रो रहेको जानकारी दिँदै अनुशासित, मर्यादित तथा ऐन र नियमावलीहरूको अधीनमा रही काम गरिरहेको बताए ।


कार्यक्रममा बोल्दै संस्थाका उपाध्यक्ष ताराप्रसाद सुवेदीले सहकारीहरूबारे अनेक भ्रमहरू फैलिरहेको बताउँदै त्यस्ता भ्रमहरू चिर्दै अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने–‘सहकारीहरूको बारेमा विविध भ्रमहरू फैलिरहेको छ, त्यस्ता भ्रमहरूलाई चिर्दै अगाडी बढ्न जरुरी छ ।’ अहिले विविध सहकारीहरूमा देखिइरहेको सहकारीको पैसा अपचलनहरू सहकारीको अवधारणामा नपर्ने पनि बताए । साथै कुनै पनि सहकारी नियम विपरीत जान नहुनेमा पनि उनले जोड दिए । 

साथै सो अवसरमा लरेन्स बचत तथा ऋण सहकारीमा आर्थिक वर्ष २०७९ /०८० मा बचत गर्नेहरूमध्ये उत्कृष्ट बचतकर्ताको रूपमा महेश्वरी कोइरालालाई ‘लरेन्स बचत तथा ऋण सहकारी उत्कृष्ट बचतकर्ता सम्मान २०८०’ बाट सम्मानित गरिएको छ । यस्तै बेख बहादुर श्रेष्ठलाई असल ऋणी २०८० बाट सम्मानित गरिएको छ । कार्यक्रममा सहकारी सम्बन्धी विज्ञहरूको उपस्थिति रहेको थियो ।