Image description

१३ चैत, दाङ । भवन निर्माणको भुक्तानी नपाएको भन्दै ठेकेदारले सल्यानको एक विद्यालयमा ताला लगाइदिँदा वार्षिक परीक्षा र प्रशासनिक कामकाज प्रभावित भएको छ ।

त्रिवेणी गाउँपालिका-१ रिठाचौर काभ्राको जनता माध्यमिक विद्यालयबाट भुक्तानी नपाएको भन्दै ठेकेदार दामोदर वलीले दुईवटा भवनमा तालाबन्दी गरिदिएका हुन् ।

 

वलीले ८ कोठे र ४ कोठे गरी दुईवटा भवनमा चैत ३ गतेदेखि ताला लगाएको प्रधानाध्यापक हिक्मत रोकाले जानकारी दिए ।

‘दुईवटै भवनमा तालाबन्दी गरेपछि अहिले वार्षिक परीक्षा र पढाइमा समस्या भइरहेको छ,’ उनले भने, ‘कक्षा १–९ सम्मको वार्षिक परीक्षामा एउटै बेन्चमा ४ जनासम्म विद्यार्थी राखेर परीक्षा लिनुपर्ने बाध्यता छ ।’

 

उनले ११ र १२ कक्षाको तथा प्राविधिक विषयतर्फ कम्प्युटर इञ्जिनियरिङको पढाइ प्रभावित भएको पनि बताए ।

चैत १७ गतेदेखि सुरु हुने एसईई परीक्षाका लागि उक्त विद्यालयमा सेन्टर तोकिएको छ । तर विद्यालयमा लागेको तालाका कारण के गर्ने भनेर निर्णय गर्न नसकेको प्रधानाध्यापक रोका बताउँछन् ।

विद्यार्थी पढ्ने कक्षाकोठादेखि प्रशासनिक कक्ष समेत उक्त भवनमा भएकाले तालाबन्दी हुँदा अप्ठेरो भएको उनले बताए । ‘ताला लगाउँदा सबै काम गाह्रो भएको छ,’ उनले भने, ‘ताला खोल्न भनेर आग्रह गरिरहेका छौं तर निर्माण व्यवसायीले मानेका छैनन् ।’