Image description

शंखरापुर नगरप्रमुख रमेश नापितले गरिबी निवारणका लागि लघु उद्यमी कार्यक्रम अन्तर्गत ८ वटा समूहलाई प्रविधि हस्तान्तरण गरका छन् । बुधबार साँखुमा भएको कार्यक्रममा उनले स्तरबृद्धि कार्यक्रम अन्तर्गत दुईवटा समूहलाई मस्यौरा बनाउँने र ब्युटीसियन कार्यक्रम सम्बन्धी र अन्य समूहहरुमा पशुपालन,  तरकारी खेती, सावुन बनाउँने लगायतका समूहलाई विभिन्न प्रकारण प्रविधि हस्तान्तरण गरेका हुन् । 

सो अवसरमा हाते ट्याक्टर, स्प्रे–पम्प, साबुन बनाउँनका लागि कराई लगायतका विभिन्न सामग्री हस्तान्तरण गरिएको थियो । 
नेपाल सरकारको सशर्त कार्यक्रम अन्तर्गत यी सामग्रीहरु हस्तान्तरण गरिएको शंखरापुर नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिएका छन् । 
यस्तै सो कार्यक्रममा विभिन्न किसिमका सीपमुलक तालिम प्राप्त ब्यक्तिहरुलाई नगरप्रमुख नापितले प्रमाणपत्र वितरण गरेका थिए । 


सो अवसरमा बोल्दै नगरप्रमुख नापितले नेपाल सरकारबाट कम बजेट आएपनि काम गर्ने समूहलाई विभिन्न प्रकारका प्रविधि प्रदान गरिएको बताउँदै त्यसको सहि सदुपयोग गरी लाभ हासिल गर्न आग्रह गरे । उनले प्राप्त प्रविधिको प्रयोगबाट सिकेका सीपलाई व्यवहारमा रुपान्तरण गरी बढीभन्दा बढी फाइदा हासिल गरी आफ्नो क्षेत्रमा सफल हुने विस्वास ब्यक्त गरे । 


यस्तै उपमेयर समिता श्रेष्ठले नगरपालिकाबाट हाल दिँदै आएको तालिम अपर्याप्त भएमा भोलीका दिनमा थप तालिम कार्यक्रम सञ्चालन गरेर सशक्त बनाउँन लागीपर्ने उल्लेख गरिन । 
कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख निर्जला चुडालले स्वागत मन्तब्य राख्दै महिला सशक्तिकरणका लागि नगरपालिकाले विभिन्न कार्यक्रमहरुलाई निरन्तर अघि बढाउने बताइन । 

कार्यक्रममा नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठले हाम्रो देशमा लघु उद्यमको धेरै ठूलो महत्व रहेको बताउँदै स्थानीय कच्चा पदार्थ, ज्ञान, सीप र प्रविधिको प्रयोग गरेर आत्मनिर्भरताको ढोका खोल्न सकिने बताए । तालिमका लागि नगरपालिकाको रकम कम खर्च गरी तालिम प्रदायक संस्थाबाट तालिम दिने र रोजगारी सिर्जना गर्ने नीति अनुसार वडा नम्बर ६ मा थोरै लगानीबाट पनि रोजगारी दिने ढंगको काम सुरु गरेको बताए ।


उद्यम विकास समिति सदस्य एवं प्रशिक्षक ज्ञानश्री श्रेष्ठले आफूले तामिल दिएका धेरै व्यक्तिहरु अहिले तालिम अनुसारको काममा लागेर आत्मनिर्भर रहेको बताउँदै तालिमबाट धेरै व्यक्तिहरु लाभान्वित भएको उल्लेख गरिन । 
नगरप्रमुख रमेश नापितको अध्यक्षताका भएको सो कार्यक्रममा उपमेयर, नगरप्रवक्ता लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम सञ्चालन शंखरापुर नगरपालिका प्रशासन अधिकृत सुभद्रा पुडासैनीले गरेकी थिइन् । 


यस्तै कार्यक्रमको दोश्रो चरणमा कुमारी बैंक इन्द्रायणी शाखाका प्रतिनिधि र कार्यक्रमका सहभागीबीच महिला उद्यमी अनुदान ऋण कसरी लिन सकिन्छ, कृषि सहुलियत कर्जा कसरी लिन सकिन्छ भन्ने बारेमा अन्र्तक्रिया कार्यक्रम भएको थियो ।  बैंकका इन्द्रायणी शाखाका कर्जा प्रमुख सुरेन्द्र श्रेष्ठले महिला उद्यमी कर्जामा ६ प्रतिशत ब्याजदर र कृषिका काममा लागि ५ प्रतिशत ब्याजदरमा कसरी अनुदान लिन सकिन्छ भन्ने बारेमा जानकारी गराएका थिए ।