Image description

१६ चैत, काठमाडौं । विभागीय टिम एपीएफले ललितपुर मेयर कप महिला टी-२० क्रिकेट प्रतियोगिताकाे उपाधिमा ह्याट्रिक गरेको छ ।

तेस्राे संस्करणको फाइनल खेलमा विभागीय टोली एपीएफले कोशी प्रदेशलाई ५४ रनले हरायाे ।

 

यो प्रतियोगिताको इतिहासमा अहिलेसम्मकै धेरै १५५ रनको लक्ष्य पछ्याएको कोशी प्रदेशले निर्धारित ओभरमा ६ विकेट गुमाएर १०० रनमात्र बनाउन सक्यो । कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३५ रन बनाइन् ।

पहिलो ओभरदेखि नै चोटका कारण असहज महशुस गरेकी उनी १३.२ ओभरमा विनु बुढामगरको बलमा बोल्ड हुनुअघि ४१ बल खेलेर ४ चौका प्रहार गरेकी थिइन् ।

 

कोशीकी अर्की ओपनर काजल श्रेष्ठले ६ रन बनाइन् । अप्सरी बेगमले १० रन जोडिन् । स्मृति कटुवालले ८ र नमिता श्रेष्ठले ७ रन जोडिन् । लतिका राजवंशी २१ रनमा अविजित रहिन् ।

बलिङमा एपीएफकी बिनु बुढामगरले २ विकेट लिइन् । उनले ४ ओभरमा १८ रन खर्चिइन् । रेखा रावल, सोनु खड्का र नेरी थापाले समान १–१ विकेट लिए ।