Image description

१३ चैत, वीरगञ्ज। गुठी संस्थानले कृषि बाली लगाउन भाडामा लगाएको जग्गा माछा पालन गर्न पोखरी खनेको पाइएपछि वीरगञ्जमा विवाद भएको छ ।

वीरगञ्ज महानगरपालिका–२८ दर्दवास्थित ३० विघा १२ कठ्ठा १० धुर जमिनमा माछापोखरी बनाउन माटो खनेपछि विवाद भएको हो । स्थानीय वासिन्दाले नदी छेउको जमिनमा पोखरी खन्दा वर्षायाममा गाउँ नै डुबान हुने खतरा बढेको बताएका छन् ।

 

बाली लगाउने शर्तमा ०७२ वैशाख २४ गते मदनप्रसाद यादवले उक्त जमिन ठेक्कामा लिएका थिए । सम्झौतामा बार्षिक १० मन प्रतिविघा धान वा सो बराबरको रकम बुझाउने उल्लेख छ । तर यो जग्गा २०७३ जेठ २८ गते अजय द्विवेदीले ठेक्का रकम आफूले बुझाउने गरी लिएका थिए । द्विवेदी गत स्थानीय निर्वाचनमा वीरगञ्ज महानगरपालिकाका मेयरका प्रत्यासीसमेत हुन् ।

आइतबार वीरगञ्ज महानगरले अनुमति नलिई माटो उत्खनन गरेको भन्दै एउटा स्काभेटर र ४ वटा टिपर नियन्त्रणमा लिएको छ । सोमबार गुठी संस्थान वीरगञ्जका प्रमुख चुडामणि घिमिरे र वीरगञ्ज महानगरका प्रतिनिधिले माटो उत्खनन भइरहेको जग्गाको स्थलगत निरीक्षणसमेत गरेका छन् ।