Image description

लक्ष्मण दंगाल/संवाददाता

१६ चैत २०८०, शुक्रवार

साँखुका समाजसेवी एवं केमिकल इन्जिनियर राजदास श्रेष्ठको पशुपतिस्थित विद्युतीय सवदाह गृहमा अन्तिम संस्कार गरिएको छ । उनका जेठा छोरा अलेक्जेज्डर श्रेष्ठले उनलाई दागबक्ति दिएका थिए । 
श्रेष्ठको सुष्मा कोइराला मेमोरियल अस्पताल साँखुमा बुधवार राती निधन भएको थियो । पशुपतिमा पुगेर नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवाल, अधिकारकर्मी मल्ल के सुन्दर, नेपाल भाषा संस्कृति प्रेमी तथा साँखुवासीले श्रद्धाञ्जली अर्पण गरेका थिए । 
पारिवारिक स्रोतका अनुसार गत चैत ७ गते उनले विष सेवन गरेपछि अस्पतालमा उपचार भइरहेको थियो । सधैँ अर्ग्यानिक खेतीमा रमाउने र कृषि उत्पादनमा समेत विषादीको प्रयोग नगर्ने नरुचाउने, कहिल्यै हिम्मत नहार्ने  श्रेष्ठले विष सेवन गर्नुपर्ने अवस्था कसरी आयो भनेर स्थानीयले आश्चर्य व्यक्त गरिरहेका छन् ।
पछिल्लो समय उनी चौकी भन्ज्याङमा अर्ग्यानिक फार्म बनाएर बसेका थिए ।  
शंखरापुर क्षेत्रलाई कागेश्वरी मनोहरामा बनाएपछि शंखरापुर नगरपालिकाको नाम पुनस्थापना गर्नका लागि श्रेष्ठ आमरण अनसन समेत बसेका थिए । साथै नेपाल भाषा साहित्य क्षेत्रको विकासमा लागि उनले उल्लेखनीय योगदान दिएका थिए । उनले आफ्ना गुरु महाकवि गिरिजाप्रसाद जोशीका विभिन्न अप्रकाशित कृतिहरुको प्रकाशन गर्नुका साथै गिरिजा प्रसाद जोशी प्रतिष्ठान, नेपाल भाषा एकेडेमीका लागि आर्थिक सहयोग समेत गरेका थिए । 
संघर्षमय र उतार चढावले भरिएको थियो राजदासको जीवन 
७२ वर्षीय राजदास श्रेष्ठ रुसमा अध्ययन गरेका ख्यातिप्राप्त केमिकल इन्जिनियर थिए । २०२५ सालमा तत्कालीन सोभियत सङ्घ रुस पुगेपछि उनले त्यहाँबाट केमिकल इन्जिनियरिङ पास गरे । 
मस्कोको ‘मस्को अफ्टो डारोभनी इन्ष्टिच्यूट’ माडी नामको एक ठुलो शिक्षण संस्थानमा भर्ना भएका थिए । अध्ययनको पहिलो वर्ष उनले रुसी भाषा पढे भने आफ्नो मुल विषय इन्जिनियरिङका साथै समाज शास्त्र र राजनीतिक शास्त्रका विषय पनि पढेका थिए । 
इन्जिनियर भएपछि उनी २५ वर्ष इन्जिनियरिङ पेसामै रमाए । पढाई अनुसारको पेसालाई साढे दुई दशकपछि छोडेर पछिल्लो समय उनी कृषि कर्म र सामाजिक अभियानमा सक्रिय थिए । 
राजदासको बाल्यकाल साँखुमै बित्यो । उच्च शिक्षाका लागि बिदेसिएपछि भने उनी देशमा धेरै बस्न पाएनन् । १० वर्षको उमेरदेखि घरमै संस्कृत विषय पढेका थिए तर नेवार समुदायकै भएकाले संस्कृत पढेर दीर्घकालीन नहुने थाहा पाएपछि त्यसलाई बिचमै छाडेको उनले बताएका थिए । 
श्रेष्ठले विगतमा मिडिया कुराकानीमा भनेका थिए–‘संस्कृतको प्रथमा तह सकेपछि वेद पढ्न खोज्दा नेवारको बच्चाले कर्मकाण्ड गर्न हुन्न भनेपछि संस्कृत छाडेँ संस्कृत पढ्न नपाएको झोँकमा अङ्ग्रेजी विषय पढ्न थालेँ । अङ्ग्रेजी अप्ठ्यारो भए पनि घोकेरै उत्कृष्ट अङ्क ल्याएँ ।’ 
उनले उत्कृष्ट अङ्क ल्याएर महेन्द्र रत्न पुरस्कार पनि जिते । त्यसपछि अमृत साइन्स क्याम्पसमा तीन वर्ष पढेपछि छात्र वृत्तिमा नाम निकालेर इन्जिनियरिङ विषय अध्ययनको लागि उनी तत्कालीन सोभियत सङ्घ रुस पुगेका थिए । 
सोभियत सङ्घमा ६ वर्षमा केमिकल इन्जिनियरिङको कोर्ष सकियो । उनले रुसमै एक युवतीसँग बिहे भयो र दुई छोरा भए । एक वर्ष मस्कोमा पढ्दा पढ्दै उनको एक जना रुसी विद्यार्थी भालेन्टिनासँग चिनजान भयो र २०२७ सालमा विवाह भएको थियो ।
श्रेष्ठको  इन्जिनियरिङ सिमेन्ट प्रविधिमा थियो । उनकै सक्रियतामा उदयपुर र धादिङमा सिमेन्ट उद्योग स्थापना भयो । उनले खानी विभागमा अनुसन्धान अधिकृतको रूपमा झन्डै एक वर्ष काम पनि गरेका थिए । तर खानी विभागको कामले परिवार पाल्न गाह्रो अवस्था थियो ।
त्यसपछि उनले त्रिभुवन विश्वविद्यालयमा व्यवहारिक विज्ञान तथा अनुसन्धान केन्द्रमा काम सुरु गरे । त्यहाँ काम गर्दागर्दै सिमेन्टको विकल्पको रूपमा भुसको खरानी उत्पादन थालेका थिए । त्यही बेलामा राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन यूनेस्कोका प्रतिनिधिले अफ्रिकी देश बोस्वानामा स्वेयम सेवकको रूपमा काम गर्न प्रस्ताव गरे । राजदासले स्वीकार गरे । २०४० सालमा राष्ट्र सङ्घको स्वमसेवक भएर दुई वर्ष बोस्वानामा सिमेन्ट उत्खननको काममा योगदान गरे । 
दुई वर्ष काम गरेपछि श्रेष्ठलाई इन्जिनियर प्रमुख नियुक्त गरियो । स्वयंसेवकको रूपमा काम गर्दा मासिक पाँच सय डलर पाउने उनले  इन्जिनियर प्रमुख भएपछि महिनाको पाँच हजार डलर कमाउन थाले ।  त्यहीबिचमा मोटरसाइकल दुर्घटनामा परेर श्रेष्ठले श्रीमती गुमाए । दुर्घटनामै परेर घाइते भएका राजदास तीन महिना अस्पताल बसेपछि आफ्ना दुई छोरा लिएर नेपाल फर्किए । तर राष्ट्र सङ्घको कार्यकाल नसकिएकाले झन्डै एक वर्ष नेपाल बसेर उनी फेरि बोस्वाना गए र झन्डै चार वर्ष त्यहाँ काम गरेर एक करोड रुपैयाँ जति कमाए । 
पहिलो श्रीमतीको दुर्घटनामा परेर ज्यान गएको पाँच वर्षपछि उनले दोस्रो विवाह गरेका थिए । त्यसपछि कोटेश्वरमा ९० हजार रुपैयाँ रोपनीमा जग्गा किनेर घर बनाए, घरमै कारखाना खोले । 
धादिङको जोगिमारामा उत्खनन गरेको चुन थानकोटमा पेलेर कोटेश्वरमा आफ्नो कारखानामा प्रशोधन गर्ने काम गरे । हातमा नटाँसिने प्रविधिबाट रंगिन चुन निर्माण गरे ।  एकपछि अर्को गर्दै २ सय ४० भन्दा धेरै समूहसँग उनले काम गरे ।  व्यवसाय राम्रो चल्दै थियो तर धेरैले उधारो सामान लिन थालेपछि राजदासको व्यवसाय घाटामा जान थाल्यो । प्राविधिक रूपमा सफल भए पनि आर्थिक रूपमा यही व्यवसायले आफूलाई डुबाएको उहाँले बताउनुहुन्थ्यो । घाटामा गएपछि आफूसँग भएको धन सम्पत्ति, घर खेत, श्रीमतीका गहना सबै बेचे पनि उनले पुरै ऋण तिर्न सकेनन् । उनले कारखाना पनि बेचिदिए । केही समय उनले भारतमा गएर रिक्सा चलाएर पनि जीवन गुजारा गर्नुपर्ने अवस्थामा पुगे । पछि आफ्नै पुर्ख्यौली थलो साँखु आएर उनी खेतीपातीमा रमाउन थालेका थिए । 
२०५७ सालमा उनले च्याउ खेती सुरु गरेका थिए । च्याउ खेती गर्दै गर्दा २०५८ सालमा अमेरिकामा हुने विश्व च्याउ सम्मेलनमा सहभागी हुने अवसर पाए ।  

अमेरिका गएपछि कमाएर आफ्नो सकिएको सम्पत्ति फेरि कमाउने र अरू बाँकी ऋण तिर्ने उनको सपना थियो ।  ठुलो सपनासहित २०५८ सालमा अमेरिका पुगेर त्यहाँ पाँच वर्ष दुःख गरेर केही पैसा पनि कमाए । 
२०६२ सालमा आफ्नै जन्मभूमि साँखु फर्किएर अमेरिकामा कमाएको पैसाले तीन रोपनी जग्गा किनेका थिए । आफ्नो इन्जिनियरिङ पेसालाई चटक्कै माया मारेर उनी कृषि कर्ममा रमाउन थाले । श्रीमतीसँग मिलेर धान, आलु, गहुँलगायतका बाली लगाउने, गाई पाल्ने काम गरे तर फाइदा भन्दापनि  धेरै नोक्सानी नै व्यहोर्नुपरेको थियो । २०७२ सालमा फेरी उनीमाथि बज्रपात प¥यो । उनले आफ्नी दोस्रो श्रीमती पनि गुमाउनुप¥यो । त्यसपछि उनले गाई पाल्न छाडिदिए । त्यसपछि उनी सामान्य रूपमा तरकारी खेतीमा लागेका थिए । 
रुसमा भएका उनका छोराहरूले रुस फर्किएर आराम गरेर बस्न बोलाए पनि उनी आफ्नो देश, आफू जन्मिएको ठाउँको माटोको सुगन्धले विदेश पलायन हुन नदिएको बताउने गर्थे । हाल भइरहेको रुस–युक्रेन युद्धका कारण उनले चिन्ता समेत व्यक्त गर्दथे । युद्धमा नागरिकहरू पनि केही समय भाग लिनुपर्ने र आफ्ना नाति पनि सो युद्धमा भाग लिएकोले चिन्ता लाग्ने गरेको श्रेष्ठले हामीसँग बताएका थिए । 
उनले भन्ने गर्थे ‘आफ्नै देशको माटोको बास्नाले मलाई तानेको छ । धेरै वर्ष विदेशमा बसेँ । पैसा पनि टन्नै कमाए, मासिक झन्डै १० हजार डलर कमाउँथे तर त्यसले वास्तविक सन्तुष्टि कहिल्यै दिएन । पैसा सुखको साधन हो । पैसा आफै सुख होइन अहिले आफैले महसुस गरेको छु ।’ 
आफ्नै देशको माटोको बास्नासँगै बाँकी जीवन साँखुमै बिताउने प्रण गरेका श्रेष्ठ सदाका लागि अस्ताएका छन् । शंखरापुरले एक बौद्धिक, प्राज्ञिक, भाषासेवी, समाजसेवी व्यक्तित्वलाई गुमाउन पुगेको छ ।