Image description

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सूर्तिजन्य पदार्थमा करको मात्रा बृद्धि गरेर गरिब तथा न्यून आएका व्यक्तिहरुलाई निःशूल्क उपचारको व्यवस्था गर्ने नीति बनाउँन लागेको जानकारी गराएका छन् । 
मन्त्री बस्नेतले संविधानले स्वास्थ्य शिक्षाको विषय निःशूल्क भनेपनि व्यवहारमा निःशूल्क हुन नसकिरहेको अवस्थामा मन्त्रालयले गरिब तथा बेबारिसे अवस्थामा पुगेका नागरिकलाई निःशूल्क स्वास्थ्य सेवा दिने उल्लेख गरेका हुन् । 
बुधबार प्रतिनिधि सभा अन्तर्गत रहेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले सूर्तिजन्य सामग्रीमा अझै करको मात्रा बढाएर ५ बर्षमा सबै नेपालीको निःशूल्क उपचारको व्यवस्था गर्न सकिनेबारे गृहकार्य गरिरहेको जानकारी दिए । उनले एसियाका अरु देशको तुलनामा नेपालमा सूर्तिजन्य बस्तुमा करको मात्रा थोरै रहेको बताउँदै करको मात्रा बढाएर त्यसबाट आउँने रकमको छुट्टै कोष बनाएर ५ बर्ष भित्रमा सबै विपन्न गरिवको उपचार गर्न सकिने उल्लेख गरे । 
उनले गरिब, बेवारिसे  नागरिकलाई निःशूल्क उपचारको व्यवस्था गर्न थालेको बताउँदै सरकारी र प्राइभेट अस्पतालले १० प्रतिशत निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने कुरालाई कार्यान्वनमा लगेको पनि जानकारी दिएका छन् । 
२२ जिल्लाका मानिसले विपन्नताको परिचय पत्र पाएको उल्लेख गर्दै अन्य जिल्लाको हकमा स्थानीय तहको वडा कार्यालयले गरिब हो भन्ने सिफारिस पत्रका आधारमा १० प्रतिशतको निःशूल्क उपचार गर्न सरकारी तथा प्राइभेट अस्पताललाई निर्देशन दिएको बताए । यसबाट हजारौैँ नागरिक लाभान्वित हुने मन्त्री बस्नेतको भनाई छ । 
यस्तै उनले  गर्मी मौसम आएकोकोले  दादुरा, आगोलागी, सर्पदंशका घटना बढ्दै गएकोले सावधानी अपनाउन र उपचारको व्यवस्था गर्न सम्बन्धित स्वास्थ्य विभाग केन्द्रहरुलाई निर्देशन दिएको जानकारी गराए । 
देशभरीका अस्पतालहरुमा कति बेड क्षमता छ, आइसियुको अवस्था छ विरामीको उपचार गर्न स्रोत साधन के छ भन्ने कुरा वेवसाइटमा राख्नुपर्ने व्यवस्था कार्यान्वन गर्न लागेको बताए । 
मन्त्री बस्नेतले भने–‘अस्पतालमा उपचारका लागि टिकट काट्न लाइन बस्न समस्या भएकोले अनलाइनमार्फट टिकटको व्यवस्था गर्न लगाएका छौँ । यसको पनि राम्रो प्रभाव पर्दै गएको छ । कुनै अस्पतालमा स्टकमा वा प्रयोग नभएको स्वास्थ्य उपकरण छ भने त्यस्ता उपकरण नभएको अस्पतालमा पठाउने काम सुरु गरेका छौँ । यसबाट उपकरण नभएका स्वास्थ्य संस्थामा काम गर्न सहज हुन थालेको छ ।’
आगोले पोलेको उपचार गर्ने अस्पतालहरुसँग उनीहरुको क्षमताबारे छलफल गरेको बताउँदै मन्त्री बस्नेतले यस बर्षको बजेटमा बीर अस्पतालमा वर्न वार्ड बनाउँनका लागि संवोधन भएको र यसलाई प्रदेशसम्म बिस्तार गर्ने उनले बताए । सर्पले टोकेका केश धेरै आएका ठाउँलाई उपचारका लागि केन्द्र तोक्ने काम गरिरहेको जानकारी गराएको मन्त्री बस्नेतको भनाई छ । 
राष्टिय योजना आयोगले ४० प्रतिशतसम्म बजेट कम गरेको र त्यसमा केही थप गराउन सफल भएको बताए ।