Image description

काठमाडौंको शंखरापुर नगरपालिकाले नगरबासीलाई निःशूल्क स्वास्थ्य सेवा दिनका लागि सुष्मा कोइराला मेमोरियल अस्पतालसँग सम्झौता गरेको छ । 
काठमाडौंको साँखुमा रहेको सुष्मा कोईराला मेमोरियल अस्पतालमा शंखरापुर नगरपालिकाका ९ वडाभित्र बसोबास गर्ने स्थानीयले ७ वटा निःशूल्क स्वास्थ सेवा र ११ वटा सहुलियतपूर्ण स्वास्थ्य सेवा पाउनेगरी यो आर्थिक बर्षका लागि सम्झौता भएको नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए । आइतबार नगर प्रमुख रमेश नापित र अस्पतालका निर्देशक सन्तोष बिक्रम भण्डारीले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।
प्रत्येक महिना अस्पतालले निःशूल्क उपचार सेवा दिएको विवरण नगरपालिकाको सम्वन्धित शाखा र नगर कार्यपालिकामा बुझाउनुपर्ने सम्झौता भएको छ ।  अस्पतालले दिएको सेवाबारे गुनासो भएमा जनप्रतिनिधिलाई जानकारी दिने र गुनासो व्यवस्थापनका लागि छलफल गरेर सुधार गर्नेपनि सहमति भएको छ । 
समझदारी पत्रमा हस्ताक्षर गरेपछि नगरप्रमुख नापितले निर्र्वाचनका बेला आफूले गरेको प्रतिबद्धता कार्यान्वयन गरेको बताउँदै नगरवासीको सेवामा नगरपालिका दृढ संकल्पिक भएर लागिपरेको बताए । उनले न्यून आम्दानी भएका तथा सामान्य स्वास्थ्य सेवा लिनबाट समेत बन्चित भएका नगरवासी सो सम्झौताबाट लाभान्वित हुने बताउँदै कोही पनि नगरबासी स्वास्थ्य उपचारबाट बञ्चित नहोउन भन्नेमा नगरपालिका संवेदनशील रहेको बताए । 

यी हुन निःशुल्क र छुटमा पाइने उपचार सेवा    

नगरप्रमुख नापित र सुष्मा कोइराला मेमोरियल अस्पतालका निर्देशक डा. भण्डारीबीच ७ प्रकारका स्वास्थ्य उपचार निःशुल्क गर्ने सम्झौता भएको हो । जस अनुसार डेन्टल ओपिडी निःशुल्क, जेनेरल ओपिडी निःशुल्क, प्लास्टिक सजर्री निःशुल्क, इमेर्जेन्सी निःशुल्क, फिजियोथेरापी ओपिडी निःशुल्क, ड्रेसिङ निःशुल्क, नर्मल बेड निःशुल्क गर्ने सम्झौता भएको छ । माथि उल्लेखित उपचार शूल्क पूर्ण रुपमा निःशुल्क गर्ने सम्झौता भएको हो । 
यस्तै इन्भेस्टिगेशन अन्तर्गत ल्याव, एक्सरे, ईसिजी, युएसजीमा लागेको खर्चमा छुटको व्यवस्था गरिएको छ । स्पेशल ओपिडी जस अन्तर्गत गाइनो, अर्थो, स्पाइन, साइकोलोजी, साइक्याट्री, इएनटीमा लागेको खर्चमा पनि छुटको व्यवस्था गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । निःशुल्क तथा विशेष छुटमा गरिएको उपचार खर्च नगरपालिकाले अस्पतालाई भुक्तानी गर्नेगरी सम्झौता भएको हो । स्थानीय तहको निर्वाचनमा राप्रपाबाट शंखरापुर प्रमुखमा निर्वाचित भएका नापितले चुनावअघि नगरबासीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।


अघिल्लो बर्षदेखि सुरु भएको निःशूल्क र सहुलितपूर्ण उपचार सेवाबाट १४ हजार ३७२ जना लाभान्वित भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । 
अघिल्लो बर्ष आगोको जलन सम्बन्धी १४ जनाले, दाँत सम्बन्धी २ हजार ५५७ जनाले, छाला सम्बन्धी ४९० जनाले, आकस्मिक भर्ना १३२ जना, नाक कान घाँटी सम्बन्धी ४०७ जनाले उपचार सेवा लिएका थिए । 
यस्तै आँखासम्बन्धी ८६० जनाले, जेनेरल ओपिडीमा ५५६ जनाले, जेनेरल सर्जरीमा ५५ जनाले, गाइनो सम्बन्धी ४०५ जनाले, जेनेरल मेडिसिन सम्बन्धी १ हजार ४७६ जनाले, हाडजोर्नी सम्बन्धी १ हजार ९९२ जनाले, बालरोग सम्बन्धी १०५, फिजियोथेरापी सम्बन्धी ४ हजार ८८६ जनाले, मनोचिकित्सा सम्बन्धी ७ जनाले स्पाइन सर्जरी सम्बन्धी १जनाले र अप्रेशन सम्बन्धी ४२९ गरी १४ हजार ३७२ जनाले निःशूल्क तथा छुटमा स्वास्थ्य सेवा लिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।