Image description

असार १, काठमाडौं । 

काठमाडौंको शंखरापुर नगरपालिका साँखुमा स्थापना भएको काँचुली महिला समूहले स्थानीय महिलाहरुको पुरानो जिवनशैलीलाई बदलेर नयाँ आयआर्जनको जिवनशैली निर्माण गर्ने अभियानमा सफलता पाउन थालेका छन् । महिलाहरुलाई संगठित गरेर आयआर्जनका विभिन्न तालिम दिने र सोही तालिममा सिकेका कुराहरुलाई व्यवहारमा रुपान्तरण गरी आर्थिक आयआर्जन गर्ने व्यवस्था मिलाएका काँचुली महिला समूह अन्तर्गत रहेको लालुपाते उपसमूहका दिदीबहिनीहरुले ऊनको धागोबाट स्वेटर टोपी बुनेर आम्दानी गर्न थालेका छन् । 
शंखरापुर वडा नम्बर ६ को तर्फबाट भएको आर्थिक सहयोगबाट तालिम हासिल गरेका उनीहरु गत बर्षको भदौ महिनादेखि निरन्तर टोपी र स्वेटर उत्पादन गरिरहेका छन् । 


झन्डै १६ जना महिलाहरु रहेको लालुपाते उपसमूहमा आवद्ध दिदीबहिनीहरुले गएको १० महिनामा ८ हजार थानजति ऊनीको टोपी र ८ सय हाराहारी स्वेटर बुनेका छन् । उनीहरुको यो कामका लागि शंखरापुर नगरप्रमुख रमेश नापित, नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठ र काँचुली महिला समूहकी अध्यक्ष ज्ञानश्री श्रेष्ठले प्रेरित गरेको काँचुली महिला समूहको केन्द्रीय सदस्य तथा लालुपाते समूहको ग्रुप लिडर राज्यलक्ष्मी मानन्धरले जानकारी दिइन । 
मानन्धरले भनिन्–‘स्वेटर बुन्ने काम त पहिला पनि गरिराखेकै थियौँ तर यसरी सबै  दिदीबहिनीहरुले काम पाउने गरी व्यवसायीक ढंगले गरिएको थिएन । हामी सबै दिदीबहिनी मिलेर यसरी काम गरौँ भनेर नगरप्रमुख रमेश नापित, वडा नम्बर ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठ, हाम्रो समूहको अध्यक्ष ज्ञानश्री श्रेष्ठले हामीलाई हौसला दिनुभएको छ । पहिला आफुखुसी एउटा–एउटा स्वेटर बुन्नेभन्दा सामुहिक रुपमा काम गर्नु ठीक हुन्छ भनेर हामीले काम थालेका थियौँ । उहाँहरुले गरेको हौसलाले नै यो काम सफल भएको ठानिरहेको छु ।’


पहिला अरुले एउटा–दुईटा स्वेटरको अर्डर दिएपछि काम गर्नुपर्ने अवस्थामा अहिले नगरपालिकाको सहयोगमा काम गर्न पाएकोमा खुसी लागेको बताइन । दिदीबहिनीहरुले सामुहिक रुपमा काम गरेर धेरथोर आम्दानी लिन सफल भएकोमा खुसी लागेको राज्यलक्ष्मीले बताइन ।  
काम छैन दिदी स्वेटर बुन्छु भनेर आउनेजति सबै महिलालाई धागो दिएर पठाएको र काम खाली नराखेको उनले बताइन् । उनले भनिन्–‘स्वेटर बुन्न चाहनेलाई स्वेटरको धागो दिएको छु, टोपी बुन्न चाहनेलाई टोपीको धागो पठाएको छु । समुहमा भएको वा नभएको मान्छे भनेर छुट्याएको छैन, सवैलाई समान अवसर दिएको छु ।’  
काम नभएर खाली बसेका महिलाहरु स्वेटर वा टोपी बुन्नका लागि उनको घरबाट धागो लिएर जान्छन् । स्वेटर वा टोपी बनाईसकेपछि राज्यलक्ष्मीलाई बुझाउँछन  र राज्यलक्ष्मीले बजार व्यवस्थापन गर्ने गरेकी छिन् ।  
उनले भनिन्–‘कसैले स्वेटरका लागि कसैले टोपीका लागि ऊन लानुहुन्छ । काम सकेपछि यहाँ बुझाउँन ल्याउनुहुन्छ । मैले चाँही पसलबाट कस्तो कस्तो अर्डर आएको छ, सोही अनुसारको स्वेटरको डिजाइन र धागो दिएर पठाउने गरेको छु ।’ 
स्वेटर र टोपीका लागि चाहिने धागो एकैपटक तीन–चार सय किलो ल्याउने गरेको उनले बताइन् । 


गत बर्ष भदौदेखि यसरी समूहमा आवद्ध भएर उनीहरले स्वेटर र टोपी बुन्न थालेको झन्डै १० महिनामा उनीहरुले ७ देखि ८ हजार थान टोपी बुनिसकेका छन् भने ७ देखि ८ सय थान स्वेटर बुनेका छन् । 
एकजनाले एकदिन पाँच देखि छ वटासम्म टोपी बुन्न सक्ने उनले बताइन । यस्तै स्वेटर बुन्नका लागि भने तीन देखि पाँच दिनसम्म समय लाग्ने गरेको छ ।  एउटा टोपी बुनेको ज्याला ४० रुपैयाँ र एउटा स्वेटर बुनेको ज्याला ६ सय रुपैँयासम्म पाउने गरेको उनले बताइन ।
साँखुमा बनाएको स्वेटर र टोपी ठमेलमा रहेका ३ वटा पसलले लिने गरेका छन् । स्वेटर टोपी लगाउने सिजन नभएकोले बजारमा माग कमी भएपनि उनीहरुले काम छोडेका छैनन् । टोपी र स्वेटरको स्टक नै भएपनि राख्ने भनेर उनीहरु काम गरिरहेका छन् । 
अफसिजन भएपनि २ हजार पिस टोपी र स्वेटरको माग आएको उनले बताइन् ।
खेतमा काम गरेर फुर्सद भएको बेलामा पनि कतिपयले स्वेटर बुन्ने काम गरिरहेका छन् । फुर्सदको समयपनि सदुपयोग पनि भएको र केही आम्दानीपनि भएको उनीहरुले बताए । 


उनीहरुका लागि शंखरापुर वडा नंबर ६ बाट २ लाख रुपैयाँ आर्थिक सहयोग भएको थियो । जागिर नभएका र लेखपढ नभएकाहरुलाई समय बिताउन र थोरै भएपनि आय आर्जन गर्नका लागि यो रकमबाट सहयोग पुगेको उनले बताइन् । 
कतैबाट मासिक सय वटा स्वेटर बनाइदिनुस भनेर अर्डर आएरमा बनाउन सकिने उनले बताइन । बनाएका सामग्री बिक्रीका लागि बजारको केही समस्या रहेको उनले बताइन् । 

वडा नम्बर ६ का अध्यक्ष राधाकृष्ण भन्छन् : ‘महिना सशक्तिकरणका लागि आयआर्जनको बाटो खोजिरहेका छौँ’ 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा पहिलो पटक वडाध्यक्ष जितेका राधाकृष्ण श्रेष्ठले त्यतिबेला भूकम्पले भत्काएका सम्पदाहरुको पुनर्निर्माणका लागि बढी ध्यान दिनु परेकोले महिला सशक्तिकरणका लागि काम गर्न नपाएको बताए । 
यो दोश्रो कार्यकालमा भने आर्थिक विकासको कामलाई मुख्य प्राथमिकता दिएर काम अघि बढाएको उनले बताए । अघिल्लो कार्यकालमा पनि सामाजिक विकासका लागि महिलालाई तालिम दिने काम गरेपनि आजआर्जनका हिसावले प्रभावकारी हुन नसकेको उनले बताए । आयआर्जनमा महिलालाई अघि बढाउनँका लागि आफ्नै खुट्टामा उभिने खालको कार्यक्रम आवश्यक देखिएकोले सहज ढंगको कस्तो कार्यक्रम हुन्छ भनेर खोज्दा स्थानीय महिला दिदीबहिनीले आफैले सिकेको सीपलाई कसरी व्यवसायीकरण गर्न सकिन्छ भनेर लागिपरेको  नगरप्रवक्ता समेत रहेका श्रेष्ठले बताए ।  


सुरुमा स्वेटर बुन्ने तालिम दिन र काम अघि बढाउनका लागि बिउ पुँजीको रुपमा लालुपाते महिला समूहलाई छनौट गरेको उनले बताए । उनीहरुले सामुहिक रुपमा काम गर्ने र उत्पादन भएका सामग्री बजार लैजानपनि सक्ने भएकोले सो समूहलाई छनौट गरिएको श्रेष्ठले बताए । सो समूहलाई बिउ पुँजीको रुपमा २ लाख रुपैयाँ दिईएको र उनीहरु सफल भएपछि सो रकम अर्को महिला समूहलाई अघि बढाउन लालुपाते समूहले खर्च गर्नुपर्ने व्यवस्था गरेको उनले बताए । 

श्रेष्ठले भने–‘हिजो हामीले करोडौं खर्च गर्दापनि रोजगारी सिर्जना गर्न सक्ने अवस्था रहेन । अहिले हामीले २ लाख रुपैयाँ सहयोग गर्दा पन्ध्र–सोह्र जनाले रोजगारी पाई धेरै राम्रो काम गरिरहनुभएको छ । यो कार्यक्रमले उहाँहरुलाई स्वरोजगार हुनका लागि महत्वपूर्ण भूमिका निर्वाह भएको छ । सानो रकमबाट पनि  चाह्यो भने राम्रो प्रगति हुन सक्छ भन्ने यो महत्वपूर्ण उदाहरणको रुपमा रहेको छ । शंखरापुर नगरपालिका भरी रहेका वडाहरु मध्ये यो सबैभन्दा असल अभ्यासको रुपमा रहेको छ ।’
महिलाहरुलाई अघि बढाउन समूहगत रुपमा लघु उद्यमका कार्यक्रमलाई अघि बढाउँन लागिपरेको श्रेष्ठले जानकारी दिए । ८ वटा समूहलाई लघु उद्यम सम्बन्धी तालिम दिने र प्रविधि हस्तान्तरण गर्ने काम भइरहेको उनले बताए । लघु उद्यमीहरुलाई सहयोग गर्ने र उनीहरुले गरेको काम कस्तो भइरहेको छ भनेर फिल्डमा गएर अनुगमन गर्ने काम समेत गर्दै आएको श्रेष्ठले जानकारी दिए । 


उनले भने–‘निकट भविष्यमा नै हामीले कोशेली घरपनि सञ्चालन गर्न लागिरहेका छौँ । यसको उद्धेश्य  –‘हिजो हामीले धेरै किसिमका तालिमहरु दियौँ, तालिमपछि उत्पादित सामग्रीहरुको मार्केटिङ गर्ने अवस्था थिएन । यहाँको कृषि उत्पादन, हस्तकलाका उत्पादनहरु, शंखरापुरका दाजुभाई दिदीबहिनीहरुले उत्पादन गरेका सामग्रीहरु बिक्रीका लागि राखिने हुनाँले त्यो कामपनि छिट्टै सञ्चालन हुन लागिरहेको छ ।’ 
स्वरोजगारका कार्यक्रम अनुसार अहिले ग्रामिण युवासँग मेयर कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा गाई भैसी पालन कार्यक्रम सञ्चालन भइरहेको, व्यवसायीक तरकारी खेतीका लागि प्लाष्टिकको टनेलाहरु अनुदानमा दिने, तरकारी तथा फलफूलका विउ तथा विरुवा अनुदानमा दिने कामपनि भइरहेको श्रेष्ठले बताए ।  उनले भने–‘यहाँका जनताहरुले रोजगारीका अवसरहरु पाउँन, नगरपालिकाले गरेका कामहरु पनि उपलब्धीमूलक होस भनेर काम गरिरहेका छौँ ।’


महिलाहरुलाई आत्मनिर्भर बनाउँन लागिपरेका छौँ : ज्ञानश्री श्रेष्ठ, अध्यक्ष, काँचुली महिला समूह


ज्ञानश्री श्रेष्ठको अध्यक्षतामा झन्डै ३ बर्षअघि काँचुली महिला समूहको गठन भएको थियो । साँखुका झन्डै २०० जना दिदीबहिनी सहभागी भएर गठन भएको यो समूहलाई  ग्रुप लिडर बनाएर ८ उपसमूहमा विभाजन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिइन । ८ समूह बनाएर तालिम, आयआर्जनका कार्यक्रम सञ्चालन गर्दै जाँदा अहिले काँचुली महिला समूहको सदस्य संख्या २५० जना पुगेका छन् । समूहकी अध्यक्ष श्रेष्ठले भनिन्–‘समूह गठन गरेपछि प्रत्येक ८ वटा समूहलाई उद्यमी बनाउँने सोच आयो, उनीहरुलाई तत्कालै के गर्न सकिन्छ भनेर हेर्दा स्वेटर बुन्ने योजना अघि बढायौँ । महिला दिदीबहिनीहरुले पहिलेदेखि नै स्वेटर बुन्दै आउनुभएको थियो । परम्परागत रुपमा गर्दै आउनुभएको काममा थोरै मात्र भएपनि तालिम दिएर दक्षतामा अभिबृद्धि गर्ने काम ग¥यौँ । पहिला पहिला वहाँहरुले कसैले काम दिएको अवस्थामा मात्र फाट्ट फुट्ट स्वेटर बुन्ने काम गर्नुभएको रहेछ । त्यो थाहा पाएर हामीले वडा र नगरपालिकाको बजेटबाट उहाँहरुलाई सहयोग गरेर समुहगत ढंगले स्वेटर बुन्ने कामको सुरुवात गरायौँ । अहिले सफल हुँदै गइरहनुभएको छ ।’


काँचुली समूहको प्रत्येक महिनाको एक पटक बैठक बस्ने गरेको छ  । विभिन्न उपसमूहले माग गरेको तालिम दिने व्यवस्था गर्दै आएको उनले बताइन् । एउटा समूहले अचार बनाउँने तालिमको माग गरेकोले सो सम्बन्धी तालिम दिइने उनको भनाई छ । झोल साबुन लगायतका सामग्री बनाउँने पनि माग भएको उनले बताइन । 
अध्यक्ष श्रेष्ठले भनिन्–‘स्वेटर बन्ने तालिमबाट एउटा समूह लाभान्वित भएको देखेपछि अर्को समूहलेपनि स्वेटर बुन्ने तालिम खोजिरहनुभएको छ । अर्को समूहलाई पनि यही समूहको ग्रुप लिडर राज्यलक्ष्मी मानन्धरलाई तालिमकर्ता बनाएर त्यो तालिम गराउने विचारमा रहेका छौँ ।’
स्वेटर बुन्ने तालिमबाट महिला दिदीबहिनीको जिवन सहज भएको श्रेष्ठले बताइन् । घरको काम, खेतबारीको काम सकेर खाली बसेको समयलाई महिलाहरुले स्वेटर टोपी बुनेर सदुपयोग गरेको र थोरै भएपनि आयआर्जन गर्न सफल भएको अध्यक्ष श्रेष्ठले जानकारी दिइन् । 
शंखरापुर नगरापालिकाभरीमा विभिन्न महिला समूह रहेका छन्, जसमध्ये लालुपाते महिला समूहले उदाहरणीय काम गर्दै आइरहेको छ ।