Image description

असार १५, काठमाडौं ।
काठमाडौंको शखरापुर नगरपालिकाले असार १५ गतेका दिन २० औं राष्ट्रिय धान दिवस हर्षोल्लासका साथ मनाएको छ । नगरपालिकाको वडा नम्बर ३ बोझिनी, पोखरीखोलामा धान रोपाई कार्यक्रम गरेर धान दिवस मनाइएको हो । 

नमुना मित्रता बहुउद्धेश्यीय सहकारी संस्था शंखरापुर–३ को व्यवस्थापन र शंखरापुर नगरपालिकाको आयोजनामा गरिएको धान दिवस कार्यक्रममा वागमती प्रदेश सांसद राजु विष्ट विशिष्ठ अतिथि, नगरप्रमुख रमेश नापित प्रमुख अतिथि, प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल, अधिकृतहरु निर्जला अधिकारी, सीतादेवी गुरागाई, सुभद्रा पुडासैनी, नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठ, वडा नम्बर ३ का अध्यक्ष सुर्यबहादुर तामाङ लगायत अतिथि रहेका थिए । 


कार्यक्रममा विशिष्ट अतिथि रहेका वागमती प्रदेश सभा सदस्य राजु विष्टले स्थानीयले कार्यक्रम स्थलमा राखेको माग अनुसार पोखरी खोलाबाट त्यस आसपासका खेतमा कुलो बनाउँनका लागि पहल गर्ने जानकारी दिए । उनले अर्को बर्ष खेत रोपाईका लागि आउँदा कुलो तयार हुने प्रतिबद्धता ब्यक्त गरे । 


यस्तै प्रमुख अतिथि नगरप्रमुख रमेश नापितले अघिल्ला बर्षहरुको तुलनामा शंखरापुर नगरपालिकामा रासायनिक मलको कोटा बृद्धि गर्न सफल भएको बताए । उनले कृषकका लागि आवश्यक पर्ने कुलो निर्माणका लागि नगरपाकिाबाट तथा प्रदेश सरकारसँग पहल गरेर निर्माण कार्य अघि बढाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 


यस्तै नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठले नगरपालिका सधै किसानको साथमा रहेको बताउँदै कृषकका सुख–दुःखमा साथमा रहने उल्लेख गरे ।

 
सो संक्षिप्त कार्यक्रममा बागमती प्रदेश सभा सदस्य विष्ट, नगरप्रमुख नापित लगायतले किसानहरुलाई माला लगाएर सम्मान व्यक्त गरे । त्यसपछि नगरपालिकाका पदाधिकारी तथा कर्मचारी र स्थानीय किसानले धान दिवस मनाउँदै रोपाई सुरु गरेका थिए । 


प्रदेश सभा सदस्य राजु विष्ट, नगरप्रमुख  रमेश नापित, नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठ, वडाध्यक्ष सुर्यबहादुर तामाङ लगायत नगरपालिकाका कर्मचारीले बाउसेको भूमिका निर्वाह गरे भने प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले ट्याक्टरले खेत जोतेर हिल्याएका थिए । 
नगरपालिकाका कर्मचारी, मित्रता बहुउद्धेश्यीय सहकारीका पदाधिकारीहरु तथा स्थानीय कृषक महिला तथा पुरुषले खेत रोपाई गरेका थिए ।