Image description

शंखरापुर नगरपालिका प्रमुख रमेश नापितले कक्षा कोठामा डिजिटल स्मार्ट बोर्डको प्रयोग सुभारम्भ गरेका छन् । सोमबार शंखरापुर नगरपालिका वडा नं ६ स्थित साँखुमा रहेको भगवती मावीमा कक्षा ६ देखि १२ सम्म स्मार्ट बोर्डबाट अध्ययन–अध्यापन गराउने कार्यको विधिवत रुपमा सुभारम्भ गरेका हुन् ।  
बागमती प्रदेशको शिक्षा मन्त्रालयको बजेटबाट नगरपालिकाको समन्वयमा ८ वटा डिजिटल स्मार्ट बोर्ड प्रयोगमा ल्याइएको हो । सो अवसरमा बोल्दै नगरप्रमुख रमेश नापितले आधुनिक प्रविधीबाट शिक्षण सिकाई कार्य प्रभावकारी हुने, यसले शिक्षक र बिद्यार्थीमा पनि उत्साह थपिने विश्वास व्यक्त गरे । 


उनले स्मार्ट बोर्डको प्रयोगले बिद्यार्थीलाई स्मार्ट हुन थप सहयोग पुग्ने बताउँदै शंखरापुर नगरपालिका भित्र रहेका अन्य बिद्यालयहरुका कक्षाकोठामा पनि स्मार्ट बोर्ड राख्दै जाने प्रतिबद्धता ब्यक्त गरे ।  

सो अवसरमा मेयर नापितले प्रत्येक कक्षा कोठाहरुको अवलोकन गर्नुका साथै  बिद्यालयको शैक्षिक अवस्थाबारे व्यवस्थापन समिति तथा प्रध्यानाध्यापकसँग जिज्ञासा राखेको नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठले नयाँ पोष्टलाई जानकारी दिए । प्रवक्ता श्रेष्ठले आगामी दिनमा नगरपालिका भित्रका सम्पूर्ण बिद्यालयहरुमा स्मार्ट बोर्ड राख्ने प्रक्रियालाई अघि बढाउने जानकारी दिएका छन् । 

विगतमा ह्वाइट बोर्ड मार्फत अध्ययन गर्दै आएका भगवती माविका विद्यार्थी डिजिटल स्मार्ट बोर्ड पाएपछि उत्साहित बनेका छन् ।